PahiloPost

Jun 16, 2025 | २ असार २०८२

एपीएफद्वारा केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा



पहिलोपोस्ट

एपीएफद्वारा केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा

काठमाडौं : रोमाञ्चक फाइनलमा न्यूडायमण्ड एकेडेमीलाई ३-२ को सेटमा हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ।

शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा न्यूडायमण्डले २ सेट हारेर उत्कृष्ट पुनरागमन गरेपनि निर्णायक सेट जित्दै एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा एपीएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएपनि न्युडायमण्डले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेको थियो।

एपीएफले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनायो। तर न्यूडायमण्डले पनि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो र चौथो सेट क्रमश: २५–१८,२५–१८ ले जित्दै २-२ को बराबरी गर्‍यो। अन्तिम तथा निर्णायक सेटमा एपीएफ हावी बन्दै १५-८ जित्न सफल भयो।

च्याम्पियन एपीएफले ट्रफिसँगै एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्‍यो। उपविजेता न्यूडायमण्डले ट्रफि र १ लाख रुपैयाँमा चित्त बुझायो।

त्यस्तै पश्चिमाञ्चलले विभागिय टोली नेपाल पुलिसलाई स्तब्ध बनाउँदै तेस्रो स्थान हात पारेको छ। निकै रोमाञ्चक भएको तेस्रो स्थानको खेलमा पनि पश्चिमाञ्चलले पुलिसमाथी ३–२ को सेटमा जित निकाल्यो। पश्चिमाञ्चलले नगद ५० हजार तथा ट्रफि हात पार्‍यो।


सरस्वती बेस्ट प्लेअर

एपीएफलाई च्याम्पियन बनाउन भूमिका खेलेकी सरस्वती चौधरी प्रतियोगिताको बेस्ट प्लेयर घोषित भइन्।

सरस्वतीले नगद १५ हजार र ट्रफिका साथै एयर एसियाबाट प्रायोजन भएको काठमाडौ–मलेसिया–काठमाडौँको एयर टिकट प्राप्त गरिन्।

शेर बहादुर खड्का स्मृति स्पेशल अवार्डबाट न्यूडायमण्डकी प्रतिभा माली सम्मानित भइन्। मालीले १० हजार हात पारिन्। प्रतिभाले प्यारागन ट्राभल्स एण्ड टुर्सका कार्यकारी निर्देशक प्रकाश सिंह कार्कीद्धारा प्रायोजन भएको माउण्टेन फ्लाईटको टिकट समेत प्राप्त गरिन। जेनेरेसन नेक्स प्रालीका अध्यक्ष पवन कुमार भिमसरियाले प्रतियोगिताको उत्कृष्ट तथा शेर बहादुर खड्का स्पेशल अवार्ड प्राप्त खेलाडीलाई एप्पल मोबाइल प्रदान गरे।

यस्तै विधागत उत्कृष्टतर्फ स्पाइकरमा न्यूडायमण्डकी प्रतिभा माली, क्वीकरमा एपीएफकी उषा विष्ट, सेटर न्यूडायमण्डकी कृपा अधिकारी, ब्लकर पश्चिमाञ्चलकी पुनम चन्द, डिफेन्समा न्यूडायमण्डकी सलिना श्रेष्ठ, सर्भरमा एपीएफकी नेविका चौधरी र उत्कृष्ट प्रशिक्षकमा एपीएफका ज्ञानेन्द्र विष्ट चुनिए। सबै विधागत उत्कृष्टले तीन हजार र ट्रफि प्राप्त गरे।

प्रतियोगिताका विजेतालाई राखेप सदस्यसचिव केशव कुमार विष्ट, मुख्य प्रायोजक केएनपी जापानका कन्ट्रि डाइरेक्टर मनोज मिश्र, सहप्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयल, क्वायरटफ म्याट्रेसका अध्यक्ष सुरेन्द्र शारदा, नेपाल भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्मा, प्रतिस्ठानका संरक्षक गमली खड्का, अध्यक्ष रन्जन खड्का लगायतले पुरस्कृत गरे।

जेठ २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ६ टिमको सहभागीता रहेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell