काठमाडौं : राजधानीको रोजबड स्कुलमा कक्षा ८ मा अध्ययनरत बिदित मान तुलाधर सिंगापुरमा हुने विश्व प्रसिद्ध युरोपियन क्लब रियल मड्रिड क्लब अन्तर्गतको रियल म्याड्रिड क्लब फाउण्डेशन प्रशिक्षण क्याम्पमा सहभागिताका लागि छनोट भएका छन्।
१४ बर्षिय तुलाधर राजधानीको मोडर्न इण्डियन स्कुलमा शुक्रबार सम्पन्न रियल मड्रिड क्लब फाउण्डेशन अण्डर–१८ फुटबल प्रशिक्षण शिविरबाट छनोट भएका हुन्। ५ दिने शिविरमा राजधानी तथा उपत्यका बाहिरका विभिन्न विद्यालयका ६५ विद्यार्थिहरुको सहभागिता थियो।
तुलाधरलाई प्रशिक्षणका दौरान देखाएको खेल कौशलका कारण प्रभावित गरेकोले छनोट गरेको प्रशिक्षकद्वय राफेल पालासियोस र ड्यानिएल ल्याण्डबुरु रोटेलाले कार्यक्रम समापनका दौरान जानकारी दिए।
'सिंगापुरमा हुने प्रशिक्षण शिविरमा छनोट भएकोमा म निकै उत्साहित छु। त्यहा हुने ट्रेनिङले मलाई थप सहयोग पुग्नेछ,' तुलाधरले भने। सिंगापुरमा हुने प्रशिक्षण शिविरको सम्पूर्ण खर्च नेपालको प्रशिक्षण शिविरको आयोजक शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस टुर्सले बेहोर्नेछ। सिंगापुर प्रशिक्षण शिविरको मिति तय हुन बाकी नै छ।
नेपालमा भएको प्रशिक्षण शिविरका लागि दुई स्पेनिस प्रशिक्षकहरुलाई नेपाली एएफसी सर्टिफाइड प्रशिक्षकहरुले सघाएका थिए। पालासियस र रोटला यूइएफए ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
पालासियसले शिविरमा सहभागि विद्यार्थिहरुले आफुलाई प्रभावित गरेको बताए। 'सहभागि बच्चाहरुले प्रशिक्षणका दौरान आफ्नो उत्कृष्ट दिएका थिए। मलाई लाग्छ उनीहरुले रियल मड्रिडको शैली बुझ्न सफल भए। उनीहरुमा पर्याप्त मात्रामा फुटबल खेल्ने क्षमता र नेतृत्व गर्न सक्ने गुण रहेको हामिले पायौं,' पालासियसले भने।
शुभारम्भका प्रबन्ध निर्देशक बिजय कुमार खत्रीले शिविरको सफलताले थप हौसला मिलेको बताए। 'जसरी क्याम्पमा सहभागि बच्चाहरुले फुटबलप्रति आफ्नो उत्सुकता देखाए र अभिभावकहरुले हामीलाई साथ दिनुभयो यसले हामीलाई निकट भविष्यमा थप कार्यक्रमका साथ अघि बढ्ने हौसला मिलेको छ।'