PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

एमालेको प्रश्नमा देउवाको जवाफ 



रमेश वाग्ले

एमालेको प्रश्नमा देउवाको जवाफ 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई संविधान संशोधनमा सघाएर राष्ट्रिय राजनीतिमा सहयोग गर्न आग्रह गरेका छन्। 

प्रधानमन्त्रीलाई बधाई दिँदै संसदमा एमालेले राखेको सहमतिको प्रस्तावको जवाफमा देउवाले संविधान संशोधनका पक्षमा उभिन र सहमतीय राजनीतिको जग निर्माण गर्न आग्रह गरे।
 
एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रचण्ड प्रधानमन्त्री हुने समयमा कांग्रेसले नै संविधान संशोधन गरेर बहुमतीय प्रक्रिया थालेको भन्दै सहमतीय प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए। एमालेका नेम्बाङले सोधेका अनेक प्रश्नमा प्रधानमन्त्री देउवाले कुटनीतिक र सटिक जवाफ फर्काए।
  
'शान्ति प्रक्रियाको नेतृत्व गर्दै संविधानसभाको चुनाव गराएका गिरिजाप्रसाद कोइरालालाई हामी राष्ट्रपति बनाउने चाहनामा थियौं, त्यसमा धेरै पार्टीबाट सहयोग भएन, एमालेले पनि असहयोग गर्यो ,' देउवाले भने, 'त्यहीँबाट अविश्वासको अवस्था सिर्जना भयो र बहुमतीय प्रक्रियाको सुरुवात भएकै हो।'

उनले प्रतिपक्ष भनेको राज्यको महत्वपूर्ण अंग भन्दै उसको भूमिका 'स्याडो गभर्मेन्ट'कै भएको बताए। 

'विपक्षबिहीन संसद बनाउने हो भने पनि सोच्दा हुन्छ। तर, राष्ट्रको हितमा सबै नेपालीलाई समेट्न व्यापक सहमति आवस्यक छ,' देउवाले भने, 'हाम्रो देशमा हिमाल छ पहाड छ तराई छ। धेरै आदिवासी जनजाति, मधेशी, थारु छन्। सबैको देश हो यो।' 

उनले सबैलाई समेट्नकै लागि 'इन्क्लुसिभ' संविधान बनाएको भन्दै बनाएर नपुग्ने भन्दै कार्यान्वयनका लागि संशोधन आवस्यक भएको बताए।

'संविधान कार्यान्वयनका लागि मधेशी जनताको भावना अनुसार संविधान संशोधन आवस्यक छ,' देउवाले भने, 'त्यसैले सबै मिलेर दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि संविधान संशोधन गरौं।' उनले एमालेले अहिले प्रतिष्ठाको विषय बनाए पनि चुनावपछि संविधान संशोधनमा सहभागी हुने बताए।

'चुनाव लगत्तै संविधान संशोधनमा प्रतिपक्षी दलको पनि सहयोग हुने विश्वास लिएको छु,' देउवाले भने।

देउवाले एमालेलाई संविधान संशोधनमा आग्रह गर्दै विगत समेत सम्झाउन भ्याए।
 
'पहिलो संविधानसभापछि राष्ट्रपतिमा एमालेले असहयोग गर्दा समेत कांग्रेसले एमालेका नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएको हो,' देउवाले भने, 'एमालेले कांग्रेसलाई पहिलो संविधानसभाको अवधिभर असहयोग गरेको हो।'

मतपत्र च्यातिँदा समेत कांग्रेस र प्रधानमन्त्रीले बेठीक नभनेको भन्दै एमाले नेता सुवास नेम्बाङले गरेको आलोचनामा देउवाले मतपत्र च्यात्ने कामलाई आफूले कहिलै ठीक नभनेको जवाफ दिए।

'भरतपुरमा मतपत्र च्यातिएको कुरा आयो। मत च्यात्ने कुरा भरतपुर पहिलो होइन, पहिला पनि च्यात्ने काम भएका छन्। कोबाट भएको छ त्यो सबैलाई थाहा छ,' देउवाले भने, 'त्यसमा निर्वाचन आयोगबाट एउटा निर्णय आएको छ। निर्वाचन आयोग संवैधानिक निकाय भएकाले त्यसको निर्णय मान्य हुन्छ हुनुपर्छ।' 

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउने ठाउँ सर्बोच्च भएको भन्दै त्यो विषय पुनः सर्बोच्च रहेको भन्दै एमालेको ध्यानाकर्षण गरे। 'हामीले मत च्यातिनु ठीक हो भनेका छैनौं,' उनले भने, 'त्यो विषय अदालतमा गइसकेकाले निर्णय गर्ने अधिकार अदालतको नै हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell