PahiloPost

Jun 16, 2025 | २ असार २०८२

नेपाली भाषा बचाउन भारतको दार्जिलिङमा यत्रो बबण्डर!



पहिलोपोस्ट

दार्जिलिङको राज भवनमा ४५ वर्षपछि पश्चिम बंगालको सरकारको क्याबिनेट बस्यो। मुख्य मन्त्री ममता बेनर्जीको अध्यक्षतामा बसेको क्याबिनेटको मिटिङ सक्किनुअघि नै राज भवन बाहिर गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरु उत्रिसकेका थिए। उनीहरु बेनर्जीविरुद्ध चर्को नारावाजी गरिरहेका थिए

दार्जिलिङमा ऐतिहासिक क्याबिनेट बसेकै दिन मुख्यमन्त्री बेनर्जीको पुत्ला पनि दहन भयो। क्याबिनेट सकेर बेनर्जी बाहिर निस्किइन् र प्रेससँग भेटिन्। 'यो इस्यु विहीन इस्यु मात्र हो,' उनले पत्रकारहरुलाई भनिन्। घटना हो मिति २०७४ जेठ २५ बिहीबार।

घटना यतिकैमा रोकिएन ढुङ्गामुडा सुरु भयो। पश्चिम बंगालका दुई दर्जन मन्त्रीसहित मन्त्रिपरिषदको बैठक गर्न पुगेकी थिइन् बेनर्जी। दुई दिन अघि मंगलबार मिरकमा उनले गोर्खा जनमुक्ति मोर्चालाई दवाव दिनेगरी अभिव्यक्ति दिइन्। उनको अभिव्यक्तिले आक्रोशित मोर्चाका कार्यकर्ता हड्तालमा उत्रिए। प्रहरीले अश्रुग्यास छोड्यो, हवाई फायर गर्यो। स्थिति नियन्त्रणमा आएन। प्रहरीले स्थिति काबुबाहिर गएको बताएपछि हिजो बिहीबार नै सेना मुभ भयो।

ममत बेनर्जी सरकारले दिल्ली गुहारेर सैनिक परिचालन गरेपछि भारतको पहाडी भेग दार्जलिङ थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेर घाइते बनाएपछि पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीले सैनिक परिचालनका लागि मोदी सरकारसमक्ष आग्रह गरिन्।

प्रतिकारमा आन्दोलनको नेतृत्व गरिरहेको गोरखा जनमुक्ति मोर्चाले आज दार्जिलिङमा आम हड्तालको घोषणा गरेको छ। राज्य सरकारले भाषामा संकुचित सोच राखेलगत्ते सुसुप्त रहँदै आएको गोर्खाल्यान्ड आन्दोलनले फेरि टाउको उठाउने स्थिति बनेको छ।

त्यसलाई दबाउन दार्जिलिङका प्रमुख क्षेत्रमा आज सेनाले मार्चपास गरेको छ।

भाषिक आत्मसम्मानको मुद्दा

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले स्कुलमा अनिवार्य बंगाली भाषा पढाइनुपर्ने मुख्यमन्त्री ममत बेनर्जीको निर्णयको कडा शब्दमा आलोचना गरे। नेपाली भाषी जनसंख्यालाई मानमर्दन गर्दै बंगाली भाषा थोपरिएको आरोप लगाउँदै उनले आन्दोलनमा उत्रिन आग्रह गरे। भाषिक आत्मसम्मानको मुद्दा नै थियो जसले दार्जिलिङ तनावलाई नेपालसँग नाता गाँस्यो।
 
गत महिना बेनर्जीले बंगाली भाषालाई राज्यका सबै स्कुल तहमा कक्षा १ देखि १० सम्म अनिवार्य विषय बनाइने घोषणा गरिन्। लेप्चा, तामाङ, गुरुङ र अन्य जातजातिको बाहुल्य रहेको भेगमा यसको नकारात्मक असर पर्यो । यी सबैले आफ्नो भाषासँगै नेपालीलाई माध्यम भाषाका रुपमा प्रयोग गर्दै आएका छन्।
 
रोचक त के रह्यो भने सुरुमा अनिवार्य भनेको बंगाली भाषालाई पछि राज्य सरकारले ऐच्छिक भन्दै पन्छियो। तर, भाषाको विषयमा सुरु भएको मुभमेन्ट भने रोकिएन। अप्रजातान्त्रिक निर्णय भन्दै आलोचना हुन थालेपछि बेनर्जीले राज्यका अन्य भागमा बंगाली अनिवार्य भए पनि दार्जलिङमा भने ऐच्छिक नै रहने बताइन्।
 
गोर्खा मुक्ति मोर्चाका प्रमुख विमल गुरुङले सडक आन्दोलनको नेतृत्व गरिरहेका छन्। एक साता अघिमात्रै आन्दोलनमा उत्रिएका गुरुङसँगै रोशन गरी, विनोद तामाङ र स्वराज थापाविरुद्ध सदर बजार पुलिस चौकीमा उजुरी दायर गरिएको छ। उनीहरुले सद्भानव भाड्न उक्साइरहेको आरोप लगाइएको छ।

त्यसो त आन्दोलन शान्तपूर्ण नै चलिरहेको थियो। तर, बिहीबार मुख्यमन्त्रीको पुत्ला दहन लगत्तै प्रहरीले प्रदर्शनकारीलाई लाठी बर्सायो। प्रतिकारमा उत्रिएका आन्दोलनकारीले ढुङ्गामुडा गरे। जब प्रहरीले अश्रु ग्यास हान्यो, त्यसपछि आन्दोलनकारी प्रहरीतिर निसाना लगाउन थाले र उनीहरुको गाडी जलाउन सुरु भयो। त्यसैले निम्त्यायो आजको बन्द।


फोटो : DarjeelingTimes



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell