PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

काठमाडौं महानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकलौटी जित



रासस

काठमाडौं महानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकलौटी जित

काठमाडौँ : काठमाडौँ महानगरपालिकामा आज नगर कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गरे।

काठमाडौँ नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना र महानगरको मतदाता नामावलीमा नाम भएका आम दलित र अल्पसङ्ख्यकमध्येबाट तीन जना गरी आठ जना सदस्यको छनोटका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको हो। वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि यस निर्वाचनका मतदाता रहे। 

गएको वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट पूरा सङ्ख्यामा उम्मेदवारी परेको भए महानगरमा प्रमुख र उपप्रमुख गरी मतदाता १६२ हुन्थे। तर त्यस निर्वाचनमा वडा नं २४, २५ र २७ बाट कुनै पनि दल वा स्वतन्त्रतर्फबाट दलित महिलामा उम्मेदवारी दर्ता हुन नसकेकाले १६२ मा तीन सिट खाली हुन गई १५९ सिटमा मात्र प्रतिनिधि चयन भएको थियो। यो सङ्ख्यामा पनि दुई जना मतदानमा अनुपस्थित भएपछि मतदाताको सङ्ख्या १५७ हुन पुगेको हो।
 
नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट महिला सदस्यतर्फ वडा नं ६ की लक्ष्मी श्रेष्ठ ९४ मत, वडा नं २५ की रमिता कमल स्थापित ९४ मत, वडा नं २६ की कान्ता अधिकारी गौतम ९३ मत, वडा नं १४ की रश्मी खड्का ९३ मत र वडा नं ३२ की हीरादेवी पोख्रेल ९१ मत प्राप्त गरी निर्वाचित भइन्। 

त्यसैगरी, दलित वा अल्पसङ्ख्यकबाट पनि नेकपा एमालेकोतर्फबाट दीपक गोर्खाली राई, प्रेम पोडे जारी र पासाङ नुर्वु लामाले ९४/९४ मत प्राप्त गरी निर्वाचित भए।
 
निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले प्रमाणपत्र प्रदान गरी शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराए। आज निर्वाचित सदस्यसहित अब महानगरमा ३२ वडाध्यक्ष, प्रमुख, उपप्रमुख र आजका आठ सदस्यसहित ४२ नगर कार्यपालिका सदस्य भएका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell