
राजविराजः राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग सरकारले गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन्।
प्रेस मञ्च नेपालद्वारा सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन सरकारले सम्झौता पूरा गर्नैपर्ने बताए।
उनले केही मधेसी दल र केही नेताले मधेसलाई धोका दिएपनि आफूहरु आफ्नो विचार र मागमा अडिग रहेको बताए।
राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले सरकारले मधेसीको माग पूरा नगरे आफूहरु आन्दोलनमा जाने चेतावनी दिए। रासस