
लण्डनः बेलायती प्रधानमन्त्री थेरेसा मेले निर्वाचन परिणाम आएसँगै संसदमा सवैभन्दा ठूलो दलको हैसियतमा आफ्नो दलले नयाँ सरकारको नेतृत्व लिने र सोही सरकारले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बहिर्गमन हुने प्रक्रिया सुरु गर्ने बताएकी छन्।
महारानी एलिजावेथ द्वितीयसँगको भेटपछि डाउनिङ स्ट्रिटमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री मेले ब्रेक्जिटका लागि यसअघि गरेको प्रतिवद्धता पूरा गरेरै छाड्ने बताइन्।
निर्वाचनमा प्रधानमन्त्रीको दलको कमजोर परिणाम आएसँगै उनको पुरानो एजेण्डाका रुपमा रहेको इयूबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको अड्कलबाजी विश्वसमुदायले गरिरहेका वेला प्रधानमन्त्री मेले निर्वाचन परिणामका कारण इयूबाट बहिर्गमन प्रक्रियामा कुनै असर नपर्ने बताएकी हुन्।
प्रतिपक्षी लेबर पार्टी र उनकै दलका केही नेतालेसमेत निर्वाचन परिणामको जिम्मेवारी लिँदै प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
बेलायतको आमनिर्वाचनको ६५० मध्ये ६४९ स्थानको परिणाम आइसकेको छ। यसमध्ये २०१५ को निर्वाचनमा ३३१ स्थान बिजय गरेको कन्जर्भेटिभ पार्टीले ३१८ स्थान पाएको छ भने लेबर पार्टीले पहिलेको २२९ बाट बढाएर २६१ पुर्याएको छ । रासस/एएफ्पी