
युवा लेगस्पिनर रसिद खानले ७ विकेटले लिएपछि अफगानिस्तानले २१२ रनको लक्ष्य डिफेण्ड गर्दै फस्ट वान डे क्रिकेटमा वेष्टइन्डिजलाई ६३ रनले पराजित गरेको छ।
अफगानिस्ताले फुल मेम्बर टिमलाई वान डे मा हराएको यो तेस्रो पटक हो। यसअघि जिम्वावे र बंगलादेशलाई पनि वान डे मा पराजित गरिसकेको छ।
जितपछि अफगानिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। यसअघि भएको ३ म्याचको टी-२० सिरिज वेष्ट इन्डिजले क्लिनसिप गरेको थियो।
सेन्ट लुसियामा टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली अफगानिस्तानले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन बनाएको थियो। उसका लागि जाभेद अहमेदीले सर्वाधिक ८१ रन बनाए भने गुल्वादिन नैवले नआउट ४१ रन बनाए। बलिङमा वेष्टइन्डिजका एस्ले नर्सले २ विकेट लिए।
जवाफमा २१३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली रसिदको धातक बलिङ सामु पूरै ओभर समेत टिक्न सकेन र ४४.४ ओभरमा १ सय ४९ रनमा अलआउट भयो।
क्यारेवियन टोलीलाई अलआउट गर्न ८.४ ओभर बलिङ गरेका रसिदले १ मेडन राख्दै १८ रन मात्र खर्चेर ७ विकेट लिए। यस्तै दवलत जर्दानले २ विकेट झारे। वेष्टइन्डिजका लागि विकेटकिपर साइह पले सर्वाधिक ३५ तथा अल्जारी जोसेफले २७ रन बनाए।
वेष्टइन्डिज र अफगानिस्तान बीचको सेकेण्ड वान डे आइतबार हुनेछ।