
आउँदो शनिबार अमेरिकाको सन फ्रान्सिस्कोमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ योजना हुँदैछ। जसमा मुख्य निर्णायकको रुपमा पूर्व मिस नेपाल इशानी श्रेष्ठ तथा अधिनेता निरज बराल रहेका छन्।
जुन १७ अर्थात असार ३ मा अमेरिकाको सन फ्रान्सिस्कोस्थित हिल्टन होटलमा आयोजना हुने कार्यक्रममा १० प्रतियोगितको सहभागिता रहने छ। जसको कोरियोग्राफ पनि इशानीले गर्नेछिन्।
अभिनेता निरज केही वर्षयता अमेरिकामा नै बस्दै आएका छन् भने इशानी सोही प्रतियोगिताका लागि अमेरिका जाँदैछिन्। उनीहरुलाई सन् २०१७ की भारतकी मिस इन्टरनेसनल इशा अग्रवालले साथ दिँदैछिन्।
अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली युवतीमा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित क्यालिफोर्निया राज्यमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ आयोजना हुन लागेको हो। अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयुक्त प्रयासमा उक्त कार्यक्रम हुँदैछ।
अनलाइन आवेदन तथा अडिसन मार्फत आवेदन परेका करिब दुई दर्जन युवतीबाट अन्तिम १० को नाम तय गरिएको आयोजकले जनाएको छ। यसरी अन्तिम १० मा परेकी प्रतियोगीलाई पूर्व मिस नेपाल इशानी श्रेष्ठ तथा भारतकी मिस इन्टरनेसनल इशा अग्रवालले कोरियोग्राफ गर्ने आयोजकले जनाएका छ।
आयोजक संस्थाका अध्यक्ष सन्तोष न्यौपानेका अनुसार कार्यक्रममा अभिनेत्री नन्दिदा केसीले कार्यक्रममा नृत्य प्रस्तुत गर्दैछिन् भने नेपालका चर्चित स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रम होस्ट गर्दैछन्।
सदिक्षा पोखरेल, अनुशा महर्जन, अन्जली खड्का, रोज लामा, अनिता चौंलागाइँ, रचना पोखरेल, डिप्ली फाजु, गायत्री बराल, परिशा रानाभाट र ओसिन रायमाझीले उपाधिका लागि अन्तिम चरणमा प्रतिस्पर्धा गर्दैछन्।
उनीहरुलाई कलाकार सुनिल थापा, गायिका नलिना चित्रकार, आरजे सुमित सिग्देल, राजन गिरी र नबिना बस्नेतले छनोट गरेका हुन्।
अभिनेता निरजले विदेशी भूमिमा नेपाली चेलीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका छन्। त्यसैगरि सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले पनि प्रतियोगिता सहभागिता हुन र प्रतियोगीसँग आफ्नो अनुभव साट्न आतुर रहेको बताएकी छिन्। प्रतियोगीको ड्रेस डिजाइनको काम भने शुभेच्छा भडेलले गरिरहेकी छिन्।