काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालले फेरि पनि निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ।
सिंहदरबारमा सत्तारुढ र राजपा नेपालका नेताबीच भएको वार्तामा राजपाले निर्वाचनको मिति सार्न गरेको प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरेका छन्। राजपाकै आग्रहमा सरकारले यसअघि निर्वाचनको मिति दुई पटक सारिसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहितको वार्तामा कांग्रेस, माओवादी केन्द्रका नेताहरुले अब कुनै पनि हालतमा निर्वाचन सार्न नसकिने बताएका छन्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा राजपा नेताहरुले फेरि निर्वाचन सारेर छलफल गरौं भन्ने प्रस्ताव गरेका तर सत्तारुढ दलले त्यो सम्भव नभएको बताएका थिए।
बैठकमा सत्तारुढ दलले अन्य प्राविधिक समस्या निर्वाचन अयोगसँग परामर्श गर्न सकिने राजपालाई बताएका थिए।
श्रेष्ठले वार्ता अझै भंग भइनसकेको भन्दै भरे, भोलि बिहान पनि छलफल हुने बताए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राजपाले यथास्थितिमा निर्वाचनमा सहभागी हुन नसक्ने वार्तामा बताएको जानकारी दिए।
राजपा नेपालका नेता शरदसिंह भण्डारीले आफूहरुले निर्वाचन चाहेको तर आफ्ना राजनीतिक बिषयहरुमा सम्बोधन नभएसम्म हामी निर्वाचनमा सहभागी हुन नसक्ने बताए।
उनले भने,‘सरकारले हाम्रो तीन बुँदे मागलाई कार्यान्वयन गरेको छैन। त्यसैले हाम्रो माग पूरा गरेको खण्डमा हामी चुनावमा भाग लिने जानकारी गरायौं।’
राजपालाई सहभागी गराउन भन्दै सरकारले यसअघि वैशाख ३१ को निर्वाचनलाई दुई चरणमा गर्ने निर्णय गरेको थियो । जेठ ३१ को निर्वाचन पनि सार्न आग्रह गरेपछि असार १४ गतेलाई पुर्याइएको छ।
राजपाले संविधान संशोधन, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग पूरा गरिसकेपछि मात्रै निर्वाचनमाभाग लिने अडान लिएको छ।