PahiloPost

Jun 16, 2025 | २ असार २०८२

नमुना मतदानमै अल्मलिए मतदाता



पहिलोपोस्ट

नमुना मतदानमै अल्मलिए मतदाता

इलाम: 'सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक। यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ', देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भनिन् 'यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ। यसपटक धेरै मत खेर जालाजस्तो छ।'

शुक्रबार देउमाई नगरपालिकाको मंगलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयोजना तथा देउमाई नगरपालिका कार्यालयको संयोजनमा सञ्चालित नमुना मतदान कार्यक्रममा नमुना मतदानमा भाग लिएपछि रमाले भनिन् 'मजस्तो पढेलेखेको मान्छे त मतपत्र पढेर मतदान गरुँला, तर अल्मलिने यस्तो मतपत्रमा वृद्धवृद्धाले कसरी भोट हालेर आउनुहोला र खै?'

तिम्सिना जस्तै नमुना मतदानमा भाग लिने धेरै मतदाताले मत हाल्ने तरिका थाहा नपाउँदा अल्मलिएका थिए। निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा दिइरहेको छ, तर सबै गाउँ–ठाउँमा मतदान गर्ने तरिका सिकाउन नसक्दा धेरै मतदाता अलमलमा परेका हुन्।

निर्वाचन आयोगले मतदान गर्न सामाजिक सञ्जालसमेत उपयोग गरेको छ। युट्युबमा कतिजनालाई कसरी मतदान गर्ने भन्ने श्रव्यदृश्य नै राखेको छ।

बीस वर्षअघिको मतपत्रमा पनि स्थानीय निर्वाचनमा सातैजनालाई मतदान गर्नुपर्दा उम्मेदवारको सङ्ख्या कम, मतपत्र सानो र चुनाव चिह्न ठूला थिए।

'नपढेका मतदाता र व्यक्ति छानेर भोट हाल्नुपर्नेका लागि केही समय लाग्छ। धेरै चुनाव चिह्न भएको दुई कोलमको र ठूलो भएकाले यसपटकको मतपत्र अप्ठ्यारै रहेको छ', जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए।

जति बुझाउन खोजे पनि मतदाता झस्किने गरेको उनको भनाइ छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि निर्वाचन कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटिरहेका उनले बताए। कर्मचारीले मात्र भोट हाल्ने तरिकाको बारेमा बुझाउन नसकिरहेको अवस्थामा राजनीतिक दलहरूले पनि मतदातालाई मतदान गर्ने तरिकाका बारेमा बुझाउन आग्रह उनले गरे।

मंगलबारेमा गरिएको नमुना मतदानको कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता थियो। तर नमुना मतदानमा भने ५० जनाले भाग लिएका थिए।

नमुना मतदान कार्यक्रममा निर्वाचन कार्यालयले स्थानीय मतदातासँग बसेर भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराएको थियो।

पहिलो चरणमा भएको निर्वाचनमा अत्यधिक मत बदर भएपछि दोस्रो चरणको निर्वाचनका क्रममा इलाममा त्यो अवस्था नदोहोरियोस् भन्ने उद्देश्यले निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको र ठाउँ–ठाउँमा नमुना मतदान कार्यक्रम गरिरहेको निर्वाचन कार्यालय प्रमुख काफ्लेले बताए।

उनका अनुसार यसअघि इलाम नगरपालिकाको बरबोटे र गोलाखर्क भञ्ज्याङ र गोदकमा नमुना मतदान गरिसकिएको छ। आगामी बिहीबार इलाम चोकबजारमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell