- दिनेश खड्का
काठमाडौँ: काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सबै सुविधासहितको चार नयाँ शहर (स्मार्ट सिटी) बनाउने तयारी सुरु गरेको छ।
प्राधिकरणले जग्गा यकिन गरेर काठमाडौँ,भक्तपुर,ललितपुर तिनै जिल्लाका शहर बन्ने क्षेत्रमा कित्ताकाट तथा नयाँ संरचना निर्माणमा रोक लगाएको छ। करिब १ लाख ३० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माणको योजना अघि बढेको प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले बताए।
काठमाडौं लगायतका वरपर आफुखुसी प्लटिङ र आवास बनाउने कार्यले शहर कुरुप बनेपछि सरकारले सबै सुविधासहितको व्यवस्थित शहर बनाउने निर्णय गरेको थियो।
प्राधिकरणले बनाउन लागेको शहरमा विद्यालय, अस्पताल, बैक तथा वित्तिय संस्था, फिल्म हल लगायतका सबै सुविधा हुनेछन्। शहरभित्रै अत्यावश्यक सरकारी कार्यालय समेत हुनेछ। यो शहरभित्र डिर्पाटमेन्टल स्टोरदेखि अन्य व्यवसायिक पसल समेत हुनेछ। शहर निर्माण गर्ने योजना अघिल्लो आर्थिक वर्षको बजेटमा समावेश थियो। प्राधिकरणले यो वर्ष विस्तृत अध्ययन प्रतिवेदनका लागि टेण्डर गरेर मूल्यांकन समेत गरिसकेको छ। मूल्यांकनपछि प्लानिङ गर्ने र सबै सरोकारवाला निकायलार्इ राखेर छलफल गरेर अन्तिम रुप दिएको प्रतिवेदन प्राधिकरणलार्इ पेश गर्नेछ।
पहिलो नयाँ शहर: काठमाडौँ र्इसान (पुर्व-उत्तर क्षेत्र)
यो उपत्यकामा निर्माण हुन लागेको पहिलो नयाँ शहर हो । जसको नाम र्इसान राखिएको छ। यो पहिलो र सबैभन्दा ठूलो शहर हुनेछ। यो शहर करिब १ लाख रोपनी क्षेत्रफलमा फैलने छ।यो काठमाडौ पुर्व-उत्तर क्षेत्रमा पर्छ।
पूर्वमा भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा जोरपाटी क्रिकेट स्टेडियमबाट मुलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने बाटो फैलिने छ। त्यस्तै उतरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको पुरानो बाटोसम्म फैलनेछ।
दोस्रो काठमाडौ आग्नेय (पुर्व-दक्षिण)
यो करिव १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ। यो पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि मन्दिर, सूर्यविनायक बनलाई बाहिर पार्दै शहर निर्माण हुनेछ।
पश्चिममा खहरे खोला ,बालकोट विरुवा सडक, पानी ट्याङकी अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालार्इ छुनेछ। शहर उत्तरमा अरनिको राजमार्ग सिमानासम्म फैलने छ। दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जंगल छेउ ,अनन्तलिङगेश्वर फेदी, तर्खगाल,पात्लेश्वर विरुवा हुँदै खहरेसम्म पुग्नेछ।
तेस्रो: काठमाडौँ नैऋत्य (दक्षिण पश्चिम)
यो तेस्रो नयाँ शहरको नाम नैऋत्य राखिएको छ। यो १० हजार रोपनी क्षेत्रफलमा फैलिनेछ। यो ललितपुरलार्इ समेटेर निर्माण हुनेछ। पूर्वमा छ्यासिकोटदेखि साविक सैंबु गाविसको सिमाना हुँदै फर्सिडोल बाग्मती नदिको झोलुङगे पुलसम्म पुग्नेछ ।
त्यस्तै पश्चिममा बाग्मती नदीको सिमानासम्म तथा उत्तरमा साविक सैवु गाविसको सिमाना छुनेछ। दक्षिणतर्फ बागमती नदीसम्म फैलिनेछ।
चौथो नयाँ शहर : काठमाडौँ उत्तर
काठमाडौँ उत्तर नाम दिएको यो नयाँ शहर पनि १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ। पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपास पुग्नेछ। पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडक छुनेछ।
त्यस्तै उत्तरमा सपनातीर्थ मालुङ हुँदै काभ्रेस्थलीतिर जानेछ। दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडकको पुल छुनेछ।
यी शहरलाई विस्तारै स्मार्ट सिटीको रुपमा विस्तार गर्दै लैजाने उपत्यका विकास प्राधिकरणले जनाएको छ। यी क्षेत्रमा भएका हालका जंगललार्इ पार्कको रुपमा विकास गरिने र नदीलार्इ तालको रुपमा विकास गरिने तिवारीले बताए। मनहरा खोलामा कम्तीमा तीन सय रोपनीको ताल बनाइने उनले बताए।