PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

बर्दियाका प्रमुख दल मत माग्न घरदैलो अभियानमा



रासस

बर्दियाका प्रमुख दल मत माग्न घरदैलो अभियानमा

गुलरियाः मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायतका दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन्। 

बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न जनताको घरदैलो अभियानमा होमिएका हुन्। 

विसं २०७१ साउनको बाढीबाट बर्दियामा करिब तीन हजार चार भन्दा बढी परिवार विस्थापित भएका छन्। विस्थापितले पनि आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिन थालेपछि राजनीतिक दलले पनि उनीहरुका एजेण्डा समेटेर चुनावमा होमिएका छन् । 

एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले उठाएका अधिकांश चुनावी मुद्दा समान छन्। उनीहरूले पुनर्वास, लालपुर्जा, सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयलाई चुनावी मुद्दा बनाएका छन्।

यसअघि सदरमुकाममा मात्र बस्ने नेतालाई यतिखेर यस्ता मुद्दा लिएर गाउँगाउँ र टोलटोलमा जान भ्याईनभ्याई छ। 

बर्दियामा २० वटा राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउन दल दर्ता गरेका छन् । हालसम्म कुनै पनि दलले नगरपालिकामा प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । 

कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो नलगाए पनि आफ्नो पोल्टामा जित पार्न एजेन्डा लिएर आफ्नो दललाई जिताउन आग्रह गर्दै जनताको दैलोमा मत माग्न दलहरु व्यस्त रहेका छन्।

यसैगरी, मुख्य तीन दलले वडाध्यक्ष र सदस्य छनोट गर्ने कामलाई पनि तीव्रता दिएका छन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell