PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

राजपा - सत्तारुढ दलबीचको बैठक संविधान संशोधनकै विषयले अनिर्णित



रमेश वाग्ले

राजपा - सत्तारुढ दलबीचको बैठक संविधान संशोधनकै विषयले अनिर्णित

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनविना निर्वाचनमा जान नसकिने अडान यथावत राखेको छ। आज बसेको सत्तारुढ दल र राजपाबीचको बैठकमा पुर्ववत् अडान राखेपछि वार्ताले कुनै निचोड निकाल्न सकेन।

बैठकमा सहभागी राजपा अध्यक्षमण्डलका नेता अनिल कुमार झाले तीन विषय आफूहरुले राखेको जानकारी दिए। राजपाले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने, मधेश आन्दोलनलाई सम्बोधन गर्न मुद्दा फिर्ता, वारेन्ट खारेज र जेलमा भएकालाई मुक्त गराइनुपर्ने तथा संविधान संशोधनका माग पूर्ववत् हुनुपर्ने जनाएको छ।

'संविधान संशोधनको पुरानो माग यथावत छ। ऐन संशोधन ठूलो कुरा होइन,' झाले भने, 'ऐन संशोधनले सहज बनाएको हो तर संशोधन नभए पनि निर्वाचनमा जान नसकिने थिएन।'

उनले मधेश आन्दोलनका कारण समातिएकाहरुलाई रिहा नगरी निर्वाचनमा जान नसकिने बताए। उम्मेदवारहरुमाथि आरोप कायम रहँदा र जेलभित्रै रहँदा चुनावी अभियानमा जान नसकिने तर्क राजपाले राखेको हो। 

वार्तामा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुद्दा फिर्ता गर्ने र चुनाव चिन्हका लागि पनि जटिलता फुकाउन सकिने बताए। 'तर उहाँहरु अहिले नै संविधान संशोधन भनिरहनुभएको छ,' पौडेलले भने, 'उहाँहरुको यो मागले जटिलता थपेको छ।'

छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि संविधान संशोधनकै विषयले समस्या पारिरहेको बताए। 'प्रधानमन्त्रीले चुनावअघि संविधान संशोधन नहुने भन्नुभएको छ। तर, उहाँहरुको यही अडानले समस्या पारेको छ,' उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell