PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

जापानी संसदद्वारा राजगद्दी परित्याग सम्बन्धी नयाँ कानुन पारित



रासस

जापानी संसदद्वारा राजगद्दी परित्याग सम्बन्धी नयाँ कानुन पारित
फोटो श्रोतःjapandailypress.com

टोक्योः बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दी परित्याग गर्न सहज हुने गरी जापानी संसद्ले नयाँ कानुन पारित गरेको छ।

हालै मात्र पारित कानुनले जापानको राजगद्दी आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकिहितोलाई बाटो खुलेको छ। 

यसअघि, जापानमा आफू जीवित छँदै सम्राट्ले आफ्ना उत्तराधिकारीलाई गद्दी सुम्पन पाउने कानुनी प्राबधान नै थिएन।
 
हाल पारित कानुन सँगसँगै जापानी राजगद्दीको करिब दुई सय वर्ष पुरानो इतिहास र यस सम्बन्धि कानुनी व्यवस्थामा संशोधन भएको छ। 

हाल, जापानका वर्तमान सम्राट आकिहितोलाई मात्र सहज हुने गरी कानुन पारित गरिएको बताइएको छ। 

साथै, यो कानून लागू भएको मितिले तीन बर्षभित्र सम्राट्ले गद्दी परित्याग गरी उत्तराधिकारी युवराज नारु हितोलाई सुम्पिइ सक्नुपर्ने प्राबधान पनि पारित कानुनमा उल्लेख गरिएको छ। 

युवराज नारु हितोलाई राजगद्दीको जिम्मा दिई बृद्ध सम्राट्लाई कहिले दायित्वबाट मुक्त गरिने हो यसबारे राजप्रासाद व्यबस्थापन परिषद् (इम्पेरियल हाउस काउन्सिल) सँग परामर्श गरी निर्णय लिने अधिकारसमेत उक्त कानुनले जापान सरकारलाई प्रदान गरेको छ। 

आगामी सन् २०१८ को डिसेम्बर महिनामा सम्राट् आकिहितोको ८५ औं शुभजन्मोत्सव पर्ने भएको हुँदा सरकारले त्यही अवसर पारेर युवराज नारु हितोलाई राजगद्दीको जिम्मा लगाई सम्राट्लाई मुक्त गराइदिने अड्कल गरिएको छ।

हरेक नवनरेशले जापानको राजगद्दि आरोहण गरिसकेपछि नयाँ सम्वतसरको नामाकरण गरिने चलन रहेकाले युवराज नारु हितोको परम्परागत राजगद्दि आरोहण पश्चात् सरकारले नयाँ सम्वतको उचित नाम राख्नका लागि पनि प्रयास गरिरहेको बताइएको छ।रासस /सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell