
काठमाडौंः चितवनको भरतपुरमा गत जेठ १४ गते मतपत्र च्यातिएपछि उत्पन्न विवादबीच पुनः मतदान कि मतगणना भन्ने विवादको निरुपण अझै तन्किएको छ।
निर्वाचन आयोगले ९० मतपत्र च्यातिएको भरतपुरमा पुनः मतदान गर्ने निर्णय गत जेठ २० गते लिएको थियो। त्यसविरुद्ध मतगणना माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जेठ २१ गते सर्वोच्च अदालत गएको थियो।
अदालतले २२ गते मुद्दाको सनुवाई गर्दै अन्तरकालिन आदेशमार्फत् मतदानको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको थियो।
साथै न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम छलफलका लागि जेठ २८ गतेका लागि निर्वाचन आयोगलाई बोलाएको थियो। अधिवक्ता गुञ्जमान बिकले दायर गरेको रिटमा मतगणना सुचारु गराउन आदेशको माग गरिएको छ।
भरतपुर मुद्दाको आज सुनुवाईका लागि विश्वम्भनरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलास तोकिएको थियो। तर मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो।
यो सँगै भरतपुरमा पुनः मतदान कि मतगणना भन्ने विवाद तन्किएको छ।
चितवनको भरतपुरमा एमालेबाट देवी ज्ञवाली र माओवादीबाट रेणु दाहाल मेयरका लागि प्रतिस्पर्धामा छन्।