काठमाडौंः नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालले आन्दोलनरत दलहरुसँग भएका सम्झौता कार्यान्वयन गरी सबै शक्तिलाई निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनका क्रममा शहादत प्राप्त सबै व्यक्तिलाई शहीद घोषणा, राजबन्दीको रिहाइ, झुटा मुद्दा फिर्ता तथा क्षतिपूर्तिलगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका हुन्।
उनीहरुले आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाका लागि निर्वाचनलाई उपयोग गर्न आन्दोलनरत दलहरुलाईसमेत आग्रह गरेका छन्।
त्यस्तै, उनीहरुले दोस्रो चरणको निर्वाचनमा मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि तालमेल गरी निर्वाचनमा जान सकिनेसमेत सहमति भएको जनाएका छन्।