काठमाडौं: फिल्म ‘देश खोज्दै जाँदा’को निर्माण युनिटले रिलिज टार्गेट तय गरेको छ। फिल्म भदौ ९ गतेबाट देशभर प्रदर्शनमा ल्याउने बताइएको हो। यस अघि फिल्म जेठ १२ गतेनै रिलिज हुने भनिएको थियो। तर पहिलो रिलिज टार्गेट मिट हुन सकेन।
फिल्मको ट्रेलर र ‘छातिमा लागेको’ बोलको गीत सार्वजनिक छ। निर्माण युनिटले रिलिज मिति र फिल्म प्रचारका लागि दुई पोस्टर एकसाथ सार्वजनिक गरेको हो।
भूटानी शरणार्थीहरुको जीवन कथामाथि बनेको फिल्मलाई साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन्। फिल्म पाँचवर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि तयार भएको निर्देशकको दाबी छ। फिल्मबारे आङदेम्बेले भने, ‘भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्दन्द्दलाई मार्मिक र संवेदनशीलताका उजागर गर्न खाजेका छौं।’ फिल्मको कथा निर्देशक आङदेम्बेकै हो।
कवि उपेन्द्र सुब्बाले पटकथामा रहेको फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको गीतमा आभाषको संगीत, श्रवण मुकारुङको शब्द र स्वरुपराज आचार्यको स्वर रहेको छ। संजय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका छन्।