PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

इरानले कतारलाई पठायो पाँच वटा कार्गो विमानमा खाद्यान्न



रासस

इरानले कतारलाई पठायो पाँच वटा कार्गो विमानमा खाद्यान्न
फोटो श्रोतः wikiwand.com

तेहरानः इरानले कतारलाई पाँच वटा कार्गो विमानमा खाद्यान्न पठाएको छ। 

अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले कतारमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर इरानले खाद्यान्न पठाएको हो। 

इरानका हवाई प्रवक्ता शाक्रोख नौशाबाडीले पाँच वटा कार्गो विमानमा फलफुल, तरकारीलगायतका ताजा खानेकुरा कतार पठाइएको जानकारी दिए।
उनले हरेक विमानले झन्डै ९० टन खाद्यान्न बोकेका र अरु विमान पनि पठाइने बताए।

त्यसैगरी, इरानले पानी जहाजबाट ३५० टन खाद्यान्न कतारको बन्दरगाहामा पुर्याएको उनले जानकारी दिए। दायेर इरानबाट कतारको सबै भन्दा नजिकको बन्दरगाहा हो। 

साउदी अरब, बहराइन, युनाइटेड अरब इमिरेटस्, इजिप्ट र यमनले गत सोमबार कतारमा नाकाबन्दी गरिएको घोषणा गरेका थिए। कतारले अतिबादीलाई सहयोग गरेकाले नाकाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ। 

कतारले आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेकोलगायतका आरोप उनीहरुले लगाउँदै कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका छन्। 

ती मुलुकले कतारस्थित आफ्ना कूटनीतिक नियोगबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकलाई देश छोड्ने आदेश दिएका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell