PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

इपिएस परीक्षा दिन गएका १९ नक्कली परीक्षार्थी पक्राउ



रासस

इपिएस परीक्षा दिन गएका १९ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट प्रहरीले पक्राउ गरेको हो। 

ललितपुरको परीक्षा केन्द्रबाट १३ र काठमाडौंको परीक्षा केन्द्रबाट ६ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले परीक्षाका लागि ७५ हजार ५८० जनाले आवेदन दिएकामा कति सहभागी भए भन्ने पूर्ण विवरण तयार भइनसकेको बताए। 

काठमाडौं उपत्यकाका २६ वटा केन्द्रमा बिहान र दिउसो गरी दुई चरणमा दुई दिन परीक्षा भएको थियो। भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तीर्ण हुनेछन्। 

जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन्। परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन्। ५१ हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell