PahiloPost

Nov 30, 2020 | १५ मंसिर २०७७

जब राजाले नारायणहिटी दरवार छाडे



ओम थापा

जब राजाले नारायणहिटी दरवार छाडे

२९ जेठ २०६५। नारायणहिटी दरवारको मुख्य हलको भर्‍याङ अघिल्तिर एउटा टेवुल स्वदेशीदेखि विदेशी टेलिभिजनका बुम र रेकर्डरले भरिएको थियो। टेवल पछिको रातो छिर्केमिर्के कुर्चीमा ज्ञानेन्द्र शाह आएर बसे।

रातो फ्रेम भएको चश्मा, ढाकाको टोपी, सेतो दौरासुरुवालमा कालो कोट लगाएका ज्ञानेन्द्र शाह नारायणहिटी राजदरवारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थिए। भेटे जति र भ्याए जति स्वदेशका मात्रै होइन विदेशी पत्रकार पनि ज्ञानेन्द्रको पत्रकार सम्मेलन कभर गर्न नारायणहिटी दरवारमा थिए।

ज्ञानेन्द्र शाहले कुल १४ मिनेटमा आफ्नो लिखित मन्तव्य राखे। जब उनले जय नेपालका साथ धन्यवाद भने, त्यसपछि एकैपटक पत्रकारहरुले प्रश्नको वर्षा गरे। ती सबै प्रश्नको जवाफ उनले दुई शब्द 'थ्याङ्क यु'मा दिए।

सात सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको नारायणहिटी राजदरवार ज्ञानेन्द्र शाहले त्यही दिनबाट सदाका लागि त्याग्दै थिए। उनी त्यो दरवारमा राजाको कार्यकारी अधिकारसहित त्यसको सात वर्ष अघि २०५८ मा प्रवेश गरेका थिए।

शाहवंशले नारायणहिटीबाट १३५ वर्ष देशमा शासन सञ्चालन गर्‍यो। सुरक्षाको बहानामा राणा शासक रणोद्विप सिंह राणाले आफ्नो दरवारको उत्तरी मोहडामा पृथ्वी वीर विक्रम शाहलाई हनुमानढोका दरवारबाट ल्याएर राखेपछि शाहवंश नारायणहिटीमा प्रवेश गरेको थियो। २०२६ सालमा अमेरिकी आर्किटेक्ट बेन्जामिन पोल्कले नारायणहिटीको पुनर्निर्माणका लागि डिजाइन तयार गरेपछि दरवार अहिलेको स्वरुपमा विकसित गरिएको हो। त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्म यही दरवारमा जन्मिएका थिए।


गिरिजाबाट सुरु, उनैमा अन्त्य

राजा वीरेन्द्रको वंशनास भएपछि ज्ञानेन्द्र महाराजगञ्जको निर्मल निवासबाट नारायणहिटीमा सरेका थिए। त्यहींबाट उनले राजकाजमा हात हाले। प्रधानमन्त्रीमा गिरिजाप्रसाद कोइरालाको राजीनामा लिएर सुरु भएको उनको राजकाज गरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा शपथ दिलाएपछि अन्त्य भयो।

त्यसवीचमा उनले शेरबहादुर देउवालाई दुई पटक प्रधानमन्त्रीको शपथ दिलाए, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। अन्तिममा आफू मन्त्रिपरिषद्को अध्यक्ष बने, तुल्सी गिरी र किर्तिनिधी विष्टलाई उपाध्यक्ष बनाएर सक्रिय शासन पनि चलाए।

पछिल्लोपटक जब गिरिजाप्रसाद कोइराला ११ दिनको दोस्रो जनआन्दोलनपछि राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्रीको शपथ लिएर नारायणहिटीबाट सिंहदरवार पुगे।

उनैले सिंहदरवारबाट नारायणहिटीमा रहेका राजा ज्ञानेन्द्रको अधिकार पनि कटौती गर्न थाले। १५ जेठ २०६५ मा जब संविधानसभाको पहिलो बैठकले राजाका पूरै अधिकार कटौती गरेको घोषणा गर्यो, त्यही दिन ज्ञानेन्द्रको सरकारी अड्डा र निवास समेत भएको नारायणहिटी दरवार राष्ट्रियकरण पनि गरियो।

नारायणहिटीलाई राष्ट्रियकरण गरेपछि ज्ञानेन्द्रले समेत त्यसलाई सहज स्वीकार गरे। उनले दरवार राष्ट्रियकरण गरेको दुई सातापछि २९ जेठमा गरेको पत्रकार सम्मेलनमा भने,  जनताको चाहना, इच्छालाई सर्वोपरी मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु।

 

तर देश छाड्‍दिनँ

नारायणहिटी छाड्ने मात्रै होइन्, १५ मिनेट लामो लिखित मन्त्व्यबाट ज्ञानेन्द्रले वीरेन्द्रको वंशनाशमा आफूमाथि लागेको आरोपको पहिलोपटक खुला खण्डन समेत गरे।

उनले भने, २०५८ साल जेठ १९ गते राती अकल्पनीय, त्रासदीपूर्ण घट्ना राजदरवारमा घट्दा मेरो पूजनीय दाजु भाउजु लगायत आफ्ना आत्मीय परिवारको विभत्स विनाश भएको र ती आदरणीय परिवारको शवमा आँसु बगाएर मन हलुका पार्ने मौका समेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जिरमा बाँच्न विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन।

उनले खण्डन गर्दै भने, यसै अवस्था र घटनालाई लिएर कतिले अत्यन्त निर्दयितापूर्वक म र मेरो परिवारमाथि लगाएको कठोर आरोप र लाञ्छनालाई हामीले सहनुवाहेक न त कुनै उपाय नै थियो, न त हाम्रोतर्फबाट बोलिदिने कोही थिए। तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन र म र मेरो परिवारप्रति पूर्वाग्रही भै विभिन्न माध्यमबाट बदनाम गर्ने काम निरन्तर भैरह्यो। जुन मेरा लागि अति दुखदायी थियो र छ पनि।

जब राजालाई नागरिक बनाइयो। त्यतिबेला ज्ञानेन्द्र विदेश भाग्ने हल्लाले बजार पिटेको थियो। त्यसको समेत उनले पत्रकार सम्मेलनबाट खण्डन गरे। उनले भने, मैले देश छाडेर जाने सोच बनाएको छैन्। म मातृभूमि नेपालमै बसी मुलुकको वृहतर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु।

राजा ज्ञानेन्द्रसँग विदेशमा बेहिसाव दौलत छ भनेर गरिएको हल्लाको पनि उनले खण्डन गरे। उनले भने मेरो विदेशमा कुनै सम्पत्ति छैन्, जे जति छ नेपालमै छ। कानुन अनुसार पूर्वजबाट आएको परम्परागत सम्पत्ति संरक्षण गरेर राखेको छु, घटाएको छैन्। उनले भने, कानुन अनुसार राख्न पाउने निजी सम्पत्ति मैले जोडेको पनि छैन्।

ज्ञानेन्द्रलाई चिन्ता श्रीपेचको

उनले पत्रकार सम्मेलनको अन्तिमतिर भने, परम्परागत रुपमा शाहवंशीय राजाबाट प्रयोग भै शाहवंशको विरासतको रुपमा रहेको श्रीपेच र राजदण्ड चिरकालप्रयत्न सुरक्षित रुपमा राख्ने गरी संरक्षणका लागि आजैका मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्त्रण गरेको छु।

नारायणहिटी दरवार छाड्न तयार ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्ड भने उनी आफैले लैजान चाहेका थिए। उनले त्यसका लागि गृहमन्त्री कृष्ण सिटौलासँग सहयोग समेत मागेका थिए। नारायणहिटीबाट सौहार्दपूर्ण तरिकाले ज्ञानेन्द्रलाई विदा गर्ने विषयमा छलफलका लागि सिटौला एक दिन सरकारी कर्मचारी लिएर नारायणहिटी पुगेका थिए।

सिटौलासँगको अन्तर्वार्ताका आधारमा जनआस्था साप्ताहिकले १३ पुसमा एउटा समाचार प्रकाशित गरेको छ। समाचारमा नारायणहिटी दरवारभित्र त्यसदिन ज्ञानेन्द्र र सिटौलावीच के कुराकानी भएका थिए त्यसको विवरण राखिएको छ।

ज्ञानेन्द्रले सिटौलासँग भने, आज संविधानसभाले हाम्रो वंश परम्पराको अन्त्य गरेको छ। त्यो निर्णय मान्छु। हाम्रो वंशले उहिल्यैदेखि पहिरिँदै आएको राजमुकुट र राजदण्ड हामीसँग भए हाम्रा सन्तानले त्यसलाई सुरक्षित राख्ने थिए। वंशको चिनो पनि हो, राणाहरुले २००७ सालमा शासन ढलेपछि राजमुकुट लिएर गए। हामीले पनि पाउँछौँ होला नि!'

सिटौलाले जवाफमा भने, 'त्यो राष्ट्रको संग्रहालयमा सम्पत्तिको रुपमा सुरक्षित रहन्छ। राणाहरुले लगे, बेचे कि खाए? थाहा छैन। तर अब हिजोको राजसंस्थाको सबै चिज यहाँहरुको निजी विषय रहँदैनन्। सिंगो देशको इतिहासको विषय रहन्छ। राजमुकुट लगेर यहाँहरुले आफ्नो खोपीमा राख्नु र त्यो राजमुकुट हेर्न चाहने देश-विदेशका मान्छेलाई देखाउनुमा, देखाउनुले जित्छ।' सिटौलाको प्रतिक्रियापछि ज्ञानेन्द्रले कुनै प्रतिवाद गरेनन्।

 

नागार्जुन पठाउने निर्णय

सिटौला ज्ञानेन्द्रलाई भेट्न मुख्यसचिव र गृहसचिव लिएर नारायणहिटी दरवार पुगेका थिए। दरवारमा काम गर्ने सचिवहरु पनि बैठकमा सहभागी थिए। तर गम्भीर मुद्रामा रहेका ज्ञानेन्द्रले सिटौलासँग एक्लाएक्लै वार्ता गर्न प्रस्ताव गरे।

त्यसपछि सिटौला र ज्ञानेन्द्रवीच ५० मिनेट लामो वार्ता भयो। वार्तामा ज्ञानेन्द्रले आमा रत्न र सरलालाई नारायणहिटी भित्रै बस्न दिन प्रस्ताव गरे। सिटौलाले पनि वृद्धाअवस्थामा उहाँहरुलाई कति ठाउँ कुदाउने भन्दै त्यसका लागि क्याविनेट लैजाने प्रस्ताव गरे। नारायणहिटीभित्रको महिन्द्र मञ्जिल जहाँ अहिले पनि दरवारको एक्लो प्रतिनिधिका रुपमा रत्न बस्दै आएकि छन्।

रत्नको बासपछि ज्ञानेन्द्रको बासको कुरा उठ्यो। अन्तिममा ज्ञानेन्द्रले सोधे, 'अहिले तोकिएको दिनभित्र म कहाँ जाऊँ?' सिटौलाले जवाफमा भने, 'निर्मल निवास जानुहोस्। राणाकालीन दरबार समेत राष्ट्रियकरण भैसकेका छन्। नागार्जुनमा बस्नका लागि सबै व्यवस्था सरकारले गर्ने भैसकेको छ। त्यसबाहेक यहाँले रोजेको कुनै ठाउँ, कुनै घर, दरबार भए भन्नुहोला। म कुरा लैजान्छु र यहाँको चाहाना पूरा गर्न हरसम्भव प्रयास गर्छु।'


नागार्जुन पठाउनुअघिको झमेला

जब जेठ १५ मा देशलाई गणतन्त्र घोषणा गरियो। त्योसँगै 'श्री ५' का नाममा रहेका सबै दरवारहरु राष्ट्रियकरण गरिए। दरवार राष्ट्रियकरण गरिएपछि ज्ञानेन्द्रसँग आफ्नो निजी सम्पत्तीका रुपमा महाराजगञ्जको निर्मल निवास मात्रै बाँकी रह्यो। राजनीतिक दलका नेता, सरकारमा सहभागी मन्त्रीहरु ज्ञानेन्द्रलाई निर्मल निवास पठाउन चाहिरहेका थिए।

तर प्रधानसेनापति रुक्माङ्गत कट्वाललाई यो कुरा चित्त बुझेको थिएन्। राजा नारायणहिटीबाट विदा हुँदा नेपाली सेनाको प्रधानसेनापति रहेका कट्वाल आफ्नो आत्मकथा 'रुक्माङ्गत कट्वाल'मा लेख्छन्,  नागार्जुन दरवार पठाउनु पनि राज्यका तर्फबाट पूर्वराजालाई सम्मान हो। त्यसका लागि ठूलै लडाइँ लड्नुपरेको थियो। गणतन्त्र कार्यान्वयनमा काम गरिरहेको गृह मन्त्रालयको दाउ राजा-रानीलाई निर्मल निवास पठाउने थियो। प्रधानमन्त्रीलाई मैले भेटेरै भनेको थिएँ, निर्मल निवासमा कुनै हालतमा हुँदैन्।

उनी लेख्छन्, यस विषयमा प्रधानमन्त्रीसँग मेरो निकै गर्मागर्मी भयो। लामो विवादपछि पूर्वराजाको हैसियतले नागार्जुन उपलब्ध गराउन सरकार राजी भएको हो।

 

के अहिले हृदयेन्द्र राजा हुन्थे?

कट्वाल आफ्नो आत्मकथामा लेख्छन्, एक दिन राति प्रधानमन्त्रीले मलाई बालुवाटार डाक्नुभयो। नराम्ररी हकार्नुभयो। 'खोइ, सबै कुरा मिलाउँछु भन्नुभएको हैन, केही आयो त? ती व्यापारीले च्यारिटी खोल्लान्?' ज्ञानेन्द्र व्यापारी हुन्, बदमास छन्' उहाँ आगो हुनुभयो, उनलाई नाफा चाहिन्छ, राजसंस्थाको वास्ता छैन्।

गिरिजाबाबुको मन भाँचिएपछि अरु पार्टीले राजा ज्ञानेन्द्रलाई स्पेस दिन सम्भव नै थिएन। ज्ञानेन्द्र नभए पनि राजतन्त्र निरन्तरताका लागि गिरिजाबाबुलाई मनाउने अन्तिम प्रयास गरें। बेबी किङ पो गराउन सकिन्छ कि ! म लागिपरें।

त्यसको संकेत गिरिजाप्रसाद कोइरालाले पनि गरेका छन्। पत्रकार जगत नेपालले  लेखेको पुस्तक 'गिरिजाप्रसाद कोइरालाका आफ्नै कुरा'मा कोइराला भन्छन्,  म यकिन भन्न सक्दिन। जनआन्दोलन २०६२/६३ पछि पनि राजाले आफुबाट गल्ती भयो भन्ने महसुस गरेको मैले पाइन। उनलाई गल्तीको फिल हुन्छ जस्तो मलाई लाग्दैन। जब मैले विराटनगरमा राजा र युवराज पारसले गद्दी छाडे हुन्छ भनें  त्यसलाई उनले रुचाए जस्तो मलाई लागेन्। उनको व्याक्तिवादी स्वभाव रहेछ। आफूबाहेक अरुलाई नचिन्ने। परिवारलाई समेत नचिन्ने। उनले गद्दी छोडेको भए त परिवारकै कोही सदस्य राजा हुन्थ्यो नि तर उनलाई त्यो पनि मान्य भएन। अब समय बितिसक्यो।

कटवाल बेबी किङका सन्दर्भमा आफ्नो पुस्तकमा लेख्छन्, गिरिजाबाबुसँग कुरा राखें। हुँदै हुन्न, उहाँ कड्किनुभयो। मैले जानेको तर्क गरें। रुखो स्वर गरें। कहिले नरम भएँ। उहाँलाई राजी गराएरै छाडें।

यहाँ बोल्यो भने माओवादीले भड्काउन सक्छन्, विराटनगर बोलेर टेस्ट गर्छु। प्रधानमन्त्रीले भन्नुभयो, 'तपाईं दरवारतिर कुरा मिलाउनुस्।'

मैले यसबारे एडिसीहरुसँग कुरा गरें। राजतन्त्र जोगाउन त्यान्द्रो यही हो भनेर राजालाई बुझाउन भनें। त्यसको एक/दुई दिनमा एडिसी विजयविक्रमले मसँग समय मागे। 'तपाईंले सेरिमोनियल वा बेबी किङबारे बोल्न जरुरी छैन्। विजयले ज्ञानेन्द्रको रुखो सन्देश सुनाए। अब तर्क-वितर्क 'दगलफसल' गरेर काम थिएन।

 

जब शाहवंशको इतिहास मेटियो




नारायणहिटीबाट बाहिरिँदै ज्ञानेन्द्र र कोमल। फाइल फोटो साभार : कान्तिपुर

जेठ २९ गते राति ज्ञानेन्द्र आफैले नारायणहिटीबाट गाडी हाँके, साथमा कोमल पनि थिइन्। कट्वाल आफ्नो आत्मकथा रुक्माङ्गत कट्वालमा लेख्छन्,  गाडीबाट हात हल्लाउँदै हाँसी-हाँसी गए। राजगद्दी त्यागनुपर्दा राजा अलिकति पनि हतासिएको देखिएन। शाहवंशको इतिहास मेटियो। नेपालको इतिहास फेरियो। राजाको मुहारमा कुनै दु:ख, पीडा, वियोग, वैराग झल्केन।

राजाको आत्मविश्वास देखेर म कायल भएँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell