
काठमाडौंः साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दिने निर्णय गरेको छ।
साझा पार्टीले इटहरीको मेयरमा प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरमा पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको साझा पार्टीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
दोस्रो चरणको निर्वाचनमा साझा पार्टीका तर्फबाट उमेदवारी दिन दर्जनौं अनुरोधहरू प्राप्त भएका भएपनि संगठनको अभावमा पार्टीले इटहरीमा मात्र आफ्नो ध्यान केन्द्रीत गर्ने लक्ष राखेको साझाले जनाएको छ।
काफ्लेले जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन्। काफ्ले जनसङ्ख्या, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अध्यापन, अनुसन्धान तथा समाजसेवामा सक्रिय छिन्।
परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन्। परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा कार्यरत छन्।