
अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन्।
सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्ण जितेका हुन्। उनले अस्ट्रेलियाकै एडमन्ड युनसंग मिलेर स्वर्ण जिते।
पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अंक ल्याएका थिए। मोहन र एडमान्डको जोडीले सो स्पर्धामा स्वर्ण जितेको यो लगातार चौथो पटक हो।
अस्ट्रेलिया जुडो महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा पनि मोहन कास्य जित्न सफल भए। उनले पश्चिम अस्ट्रेलियाका ज्याकब रिडलाई पराजित गरे।
अस्ट्रेलियामै बस्दै आएका अर्का जुडो खेलाडी खेम थापाले पनि पुरुष ६० केजीमा कास्य जित्न सफल भएको बताइएको छन्। सो स्पर्धामा १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। मोहन र खेलमले भिक्टोरियाको प्रतिनिधित्व गरेका थिए।