ललितपुर : २०७२ सालको भूकम्पको झट्काले पाटन दरबार क्षेत्रका ऐतिहासिक मन्दिरसँगै त्यहाँका काष्ठकला पनि बिगार्यो। भूकम्पले मन्दिरका मुख्य आकर्षण कलाकृतिमा क्षति पुर्याएपछि पूरै पाटनको सुन्दरता घट्यो।
तर, भूकम्पको छ महिना नपुग्दै पाटनको काष्ठकला फेरि ब्युँताउन जुटे भक्तपुरका शिल्पकार सिकर्मीका हातहरु। पाटनको काष्ठकला ब्युँताउन भक्तपुरका ११ जना शिल्पकार अहिले पनि दिनहुँ पसिना बगाइरहेका छन्।
११ सिकर्मीमध्ये प्रमुख हुन् तीर्थराम शिल्पकार। भक्तपुरमा जन्मेका उनका बाजे बराजु यही पेशामा थिए। शिल्पी उनले घरबाटै सिके। १० वर्षको उमेरदेखि नै काठमा बुट्टा बनाउन थालिसकेका थिए उनले।
ऐतिहासिक पाटनका काष्ठकलालार्इ मर्मत तथा निर्मण गरिरहेका तीर्थराम पाटनलार्इ पहिलेकै अवस्थामा पुर्याउन गर्न अझै तीनदेखि पाँच वर्ष लाग्ने अनुमान लगाउँछन्।
हरिशंकर मन्दिरमा राखिने हरिशंकर भगवानको अनुहार कुँदिरहेका हरिप्रसाद शिल्पकार पनि यह समूहका सिकर्मी हुन्। काठमा चित्र कुँद्ने कलामा अब्बल छन् यिनी।
काठमा ५ दिन लगाएर एउटा अनुहार तयार पार्छन् उनी।
पाटनका विभिन्न मन्दिरमा परापूर्वकालमा बनाइएका काष्ठकला कुनै मर्मत गरमात्रै हुन्छ कुनै पूरै फेर्नै पर्ने छ।
काम नलाग्ने गरी क्षति भएको भेटिए नयाँ काठमा पुरानो कला साभार गरिरहेको सिकर्मी बालकृष्ण शिल्पकारले बताए।
मन्दिरको काष्ठकला अवलोकन गर्दा अवलोकनकर्ताको सबैभन्दा छिटो नजर जाने ठाउँ कारलेस हो। कारलेसमा कुँदिएको कला हेर्दा जति राम्रो देखिन्छ बनाउन उति नै अप्ठ्यारो छ। सानासाना कुरामा ध्यान दिएर दृष्यहरु कुद्नु पर्ने भएकाले यस्तो काम गर्दा ध्यान दिनुपर्ने सिकर्मी पुष्पराज शिल्पकार बताउँछन्।
काष्ठकला कुँदिरहेका पुष्पराज शिल्पकार एउटा कारलेसमा चित्र कुँद्न तीन दिन लगाउँछन्। बालककालमा काठको काम हजुरबुबा र बुबाबाट सिकेका उनी यही काममा रमाउँछन्।