
कोलकाताः दार्जिलिङमा जारी आमहड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्कामा यहाँ आएका स्वदेशी तथा विदेशी पर्यटकले दार्जिलिङ छाड्न थालेका हुन्।
केही दिनदेखि जारी आन्दोलन नरोकिएकाले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटक पनि भ्रमण अवधि छोट्याएर फर्कन थालेका छन्।
दार्जिलिङ्का हिल रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले सोमबार आमहड्तालको आयोजना गरेको छ। आन्दोलनमा सरकारले दमन गरेमा थप हिंसात्मक हुनसक्ने चेतावानी उनीहरुले दिएका छन्।
सोही कारण पर्यटकहरु भाग्नुपरेको होटल व्यवसायीहरु बताउँछन्। गतहप्ता भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १२ आन्दोलनकारी घाइते भएका थिए। घटनापछि आन्दोलनकारी थप आक्रोसित भएका छन्।
एकजना होटल व्यवसायीक अनुसार आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका छन्।
हाल दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चा विद्यालयमा अनिवार्य बंगाली भाषा पढाइनुपर्ने मुख्यमन्त्री ममता बेनर्जीको निर्णयको विरोध गर्दै आन्दोलनमा उत्रिएको छ।रासस/एएफपी