
काठमाठौँ : नेपाल आर्मीले दोस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको फाइनलमा संकटा क्लबलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो।
आर्मीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउन अरिक विष्टले ५२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
च्याम्पियन आर्मीले उपाधिसँगै नगद ३ लाख पुरस्कार हात पार्यो। उपविजेता बनेको सकटाले १ लाख ५० हजार प्राप्त गर्यो।
यस्तै व्यक्तिगत उत्कृष्टतर्फ पनि आर्मीकै वर्चस्व रह्यो। आर्मीका अर्पण कार्की उत्कृष्ट गोलकिपर, विश्वास उदास उत्कृष्ट डिफेण्डर, दिनेश योन्जन उत्कृष्ट मिडफिल्डर र चक्र तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए। संकटाका दिनेश आले मगर उत्कृष्ट फरवार्ड चुनिए।
प्रतियोगिताको विजेता टिम तथा खेलाडीलाई ललितपुर महानगरपालिकाका नवनियुक्त मेयर चिरीबाबु महर्जन, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र एन्फाका पूर्व कार्यवाहक अध्यक्ष स्वर्गिय ललितकृष्ठ श्रेष्ठकी पत्नी निलु श्रेष्ठले पुरस्कार प्रदान गरे।