काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी नेपाललगायत आन्दोलनरत राजनीतिक दललाई उम्मेदवार हुने र निर्वाचनको प्रचारप्रसार गर्ने नागरिक अधिकार कुण्ठित नगर्न आग्रह गरेका छन्।
प्रदेश नं २ को निर्वाचन तयारीको अनुगमन गरेर फर्केपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले आन्दोलन गर्ने लोकतान्त्रिक अधिकार भए पनि निर्वाचनको माध्यमबाटै विद्यमान सबैखाले समस्या समाधान हुने बताए।
राजनीतिक दलहरु उम्मेदवारको छनोट र सम्भावित उम्मेदवार निर्वाचनको प्रचारप्रसारमा जुटिरहेको उल्लेख गर्दै यादवले उम्मेदवारी दर्तापछि सघन रुपमा उम्मेदवार मतदातामा जाने हुँदा त्यसपछि चुनावको राम्रो वातावरण बन्ने विश्वास व्यक्त गरे।
राजनीतिक दल, उम्मेदवार र मतदातामा तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भन्नेमा एउटै स्वर र अभिमत रहनु सकारात्मक भएको बताउँदै यादवले दोस्रो चरणको निर्वाचनमा अघिल्लो जस्तै उत्साह र मतदाताको व्यापक सहभागिता र समर्थन हुने बताए।
उनले भने,‘संविधानको स्वीकार्यतालाई दृष्टिगत गरी राजनीतिक वातावरण बनाउन यसअघिका निर्वाचनको मिति सारिए पनि आगामी असार १४ गतेको स्थानीय तहको निर्वाचन अन्तिम हो, निर्वाचन सारेमा ठूलो गल्ती हुनेछ, निर्वाचन सार्नुपर्ने कुनै व्यवस्थापकीय, कानुनी, संवैधानिक कारण छैन, त्यसैले अब यो सर्दैन, सार्न पनि हुन्न।’ रासस