PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेपालमा भत्कियो नेटवर्किङ व्यवसायको अन्तर्राष्ट्रिय जालो, होटलबाट समातिए एक सय २ जना



सविन ढकाल

नेपालमा भत्कियो नेटवर्किङ व्यवसायको अन्तर्राष्ट्रिय जालो, होटलबाट समातिए एक सय २ जना

काठमाडौं : नेपालमा डेढ वर्षदेखि गैरकानुनी रुपमा क्यु नेट नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आइतवार पुरानो बानेश्वरमा रहेको सिद्धार्थ फुडल्यान्डमा अवैध नेटवर्किङको प्रशिक्षण दिइरहेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले एक सय २ जनालाई पक्राउ गरेपछि यसको औपचारिक खुलासा भएको हो।
 
मलेसियमा मुख्य र हङकङमा कर्पोरेट अफिस खडा गरी अन्तर्राष्ट्रिय रुपमा नै नेटवर्किङ व्यवसाय गरिँदै आएको व्युरोका एसएसपी शेरबहादुर बस्नेतले बताए। 

यसरी संचालन भएको व्यावसायमा कति नेपाली आवद्ध छन् र ठगीको मात्रा कित भन्ने यकिन हुन सकेको छैन। उनले कोही व्यक्ति ठगिएको भए प्रहरीमा आएर जानकारी दिन समेत अनुरोध गरेका छन्। 

उनले भने 'ठूलो सङ्ख्यमा नेपाली आवद्ध हुन सक्छन् हामी अनुसन्धानमा लागि रहेका छौं।' नेपालमा यस ब्यावसायको शुरुवात भने सुमित श्रेष्ठले गरेको खुल्न आएको छ। पक्राउ परेकामध्ये प्रहरीले १४ जनालाई क्यु नेट ठगी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। पक्राउ गर्नेहरुमा २९ जना महिलासमेत छन्। 

क्यु नेट नेटवर्किङ सदस्यताको लागि ३ लाख देखि ५ लाखसम्म

नेटवर्किङको सदस्यता लिनका लागि एक जना नेपालीले ३५ सय डलर तिर्नुपरेको खुल्न आएको छ। यसरी सदस्य बन्नेहरुमा बैंकर, व्यापार, डाक्टरको सङ्ख्या बढी भएको प्रहरीको दावी छ। प्रहरीको तथ्याङ्क अनुसार १ सय ८० देशहरुमा अवैध रुपमा क्यु नेट नेटवर्किङको जालो छ। नेपाल, भारत, श्रीलङ्का, अमेरिका, क्यानडा लगायत देशमा भने नेटवर्किङ व्यवसाय गर्न सरकारले प्रतिबन्ध लगाएको छ। 

साताको आइतवार र बुधवार गोप्य प्रशिक्षण

नेटवर्किङ ब्यावसायीहरुले राजधानीका विभिन्न स्थानमा गोप्यरुपले सदस्य भेला गरी हरेक साताको आइतवार र बुधवार प्रशिक्षण दिने गरेको पाइएको छ। प्रहरीले आइतवार पनि प्रशिक्षण दिइरहेको अवस्थामा पक्राउ गरेको हो। काठमाडौंको सिद्धार्थ फुडल्यान्डको हल २ घन्टाको लागि ७ हजारमा भाडामा लिइ उनीहरुले प्रशिक्षण दिइरहेका थिए। हलका सिसाहरुमा अरुले देख्ने आशंकमा पत्रिका टाँसेर प्रशिक्षण दिएको थियो। अनलाइनबाट हुने ब्यावसायको प्रशिक्षण मलेसिया र भारतको बैंगलौरबाट अनलाइन मार्फत् नै हुने गरेको छ। 

अनलाइन बाटै सदस्यता वितरण, ५१ हजार डलरसम्म आम्दानी

३५ सय डलर तिरेपछि अनलाइनबाट नै सदस्य बन्न मिल्छ यो कारोबारमा प्रवेश गर्न। सदस्यको कुनै कार्ड भने हुँदैन।  उनीहरुलाई सदस्य बनेको जानकारी मेल मार्फत् प्राप्त हुन्छ। आइडी र पासवर्ड दिइन्छ जसबाट आर्जन गरेको रकम कति हो जानकारी लिन सकिन्छ। पिरामिड आकारमा सदस्य थप्दै गए आफ्नो एकाउन्टमा २ सय डलर थपिँदै जाने पक्राउ परेकाले प्रहरीलाई बयान दिएका छन्। नेपालका मुख्य संचालक सुमित श्रेष्ठको एकाउन्टमा ५१ हजार डलर जम्मा भएको देखिएको छ। माथिका संचालकले राम्रै आम्दानी गरे पनि तलका सदस्यहरु भने ठगीने गरेकै एसएसपी बस्नेतले बताए।
 

वस्तु खरिद र विदेश भ्रमणको भ्रमपूर्ण लोभ

आफ्नो एकाउन्टमा जम्मा भएको पैसाले बस्तु खरिद र विदेश भ्रमण गर्न सक्ने व्यवस्था भएको संचालकहरुले दावी गरेका छन्। विश्वभर रहेका १ हजार  सपिङ मलबाट जम्मा भएको रकमले अनलाइनबाट नै सामान खरिद गर्न सकिने बताएका छन्। त्यस्तै विभिन्न देशको भ्रमणमा पनि रकम खर्च गर्न सकिने दावी छ। 

के हो क्यु नेट नेटवर्किङ ?

विद्युतीय संचार माध्यमको प्रयोग गरी एउटा गिरोहले विगत केही समयदेखि अन्तर्राष्ट्रियस्तरमा अनलाइन नेटवर्किङ भन्दै शुरु गरेको अवैधानिक ब्यापार हो। सदस्य भएको व्यक्तिले आफ्नो दायाँ बायाँ एक एक जना सदस्य थप्दै गए उनको एकाउन्डमा २ सय देखि ४ सय डलर थपिँदै जान्छ पिरामिड शैलीमा।

केही वर्षअघि युनिटी लाइफ इन्टरनेसनल, हर्वो इन्टरनेसनल लिमिटेड लगायतले पिरामिड आकारको व्यवसाय सञ्चालन गरी ठगी गरेपछि सरकारले प्रतिबन्ध लगाएको थियो। पक्राउ परेका सबैसँग बयान तथा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। युनिटी  लाइफ र हर्बो इन्टरनेसनलका सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाही भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell