काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ।
समहूको पहिलो खेलमा फिलिपिन्ससँग उसैको मैदानमा पराजित भएको नेपालको लागि यमनविरुद्धको खेलमा गल्ली नदोहोर्याउन चुनौती रहेको छ।
नेपाल र यमनबीको खेल मंगलबार दिउँसो एपीएफ मैदान हलचोकमा हुँदैछ।
यमनसँगको खेलअघि तयारी स्वरुप एक साताअघि भारतमा खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो। जसमा नेपालको कमजोरी प्रष्टै देखिएको थियो।
अहिले नेपाल घरेलु मैदानमा खेल्दैछ जुन नेपालको लागि बलियो पक्ष पनि छ। मुख्य प्रशिक्षक योतुकु कोजी र कप्तान विराज महर्जनले पनि यमनविरुद्ध गल्ती सुधार गर्ने बाचा प्रि-म्याच कन्फ्रेन्समा गरेका छन्।
कप्तान विराजले जित्नकै लागि खेल्ने र सकेसम्म गोल नखाने रणनीतिका साथ खेल्ने बताएका थिए। यस्तै कोलीले पनि सकेसम्म राम्रो खेल्ने प्रयास गर्ने बताएका छन्।
उता यमनका प्रशिक्षक इब्राहिम र कप्तान अरस मोहम्मदले जित्नकै लागि नेपाल आएको प्रतिक्रिया दिएका थिए।
यमनले समूहको पहिलो खेलमा ताजिकिस्तानलाई हराइसकेको छ। यसअघि भएका दुई खेलमा पनि नेपालले यमनलाई जित्न सकेको छैन। त्यसैले पनि घरेलु मैदानमा यमनसँग नेपालको वास्तविक परीक्षा हुनेछ।