
काठमाडौं : स्थानीय निकायको पहिलो चरणको निर्वाचन मुखैमा दोलखामा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले हत्यारालार्इ कारबाही नभए सपरिवार आत्मदाह गर्ने जनाएको छ। कुलबहादुरकी पत्नी साङमाया तामाङले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएकी हुन्।
२०७४ वैशाख २६ गतेको राति चुनावको प्रचार प्रसार गर्नेक्रममा भएको झडपमा परी कुलबहादुरको मृत्यु भएको हो। गोरीशंकर नगरपालिकाको वडा नम्बर १ जुँगुमा हत्या भएको भन्दै परिवारले किटानी जाहेरीसमेत दिइसकेको छ।
साङमायाका अनुसार गाउँमा छोराछोरी स्कुल जाने अवस्था छैन्। उनीहरुको परिवारलार्इ अहिले पनि धम्की आउने गरेको छ।
तामाङ हत्यामा आरोपी एन्ड्रिज कार्की, सुरेस कार्की, प्रेम तामाङ, गोपाल तामाङ निलम जिरेल, प्रेम बहादुर तामाङ लगाएत ९ जना अभियुक्तलार्इ दोलखा जिल्ला अदालतले तारेखमा रिहा गरेको थियो। उनीहरुले किटानी जाहेरीमा माओवादीका देवी खड्का लगायतले योजनावद्ध रुपमा कुलबहादुरको हत्या गरेको उल्लेख गरेका छन्। प्रहरी प्रशासनले समेत साथ नदिएपछि काठमाडौंमा न्याय खोज्दै आउन परेको कुलबहादुरका बाबु गोरे तामाङले बताए।