दृश्य १:
सोमबार राजधानीको सबैभन्दा ठूलो खानेपानीको स्रोत सुन्दरीजलको प्रशोधन केन्द्रमा दुर्इ वटा फिल्टरको पानी रोकेर चाबी मर्मत भइरहेको थियो।
पानी पठाउन मोटर र चाबी दुवै ठीक हुनुपर्छ। मोटरमात्र चलेर चाबी बिग्रिए वा चाबी राम्रो भएर मोटर बिग्रदा पानी पठाउन सकिँदैन। सुख्खायाममा खानेपानीको स्रोतमै चाबी विग्रेर खानेपानी कम उत्पादनमा भइरहेको थियो।
दृश्य २:
केयुकेएलको सामाखुसी वितरण केन्द्रबाट दुर्इ साताअघि पानी आएन। पानी नआएपछि केन्द्र घेराउ गर्न स्थानीयवासी पुगे। सुरुमा मोटर विग्रिएको जानकारी दिएका कर्मचारीले स्थानीयको दबाबपछि मोटर चलाएर तत्कालै पानी दिए।
दृश्य ३:
केयुकेएल बाँसवारी वितरण केन्द्रले वैशाखसम्म सातामा तीन दिन खानेपानी वितरण गर्थ्यो। अहिले पानीको स्रोत कम भएको जनाउँदै महिनामा तीन दिन मात्रै पानी दिने तालिका तयार पारेको छ। बाँसवारी पुग्दा स्रोतभन्दा पनि भएका मोटर विगारेर पानी दिन बन्द गरिएको पाइएको थियो।
दृश्य ४:
काठमाडौं उपत्यकाको अहिलेसम्मको मूख्य खानेपानीको स्रोतको रुपमा रहेको सुन्दरीजल पानी प्रसोधन केन्द्रको ट्याङ्कीमा आधा मात्र पानी छ। पाइपबाट पानी झरेको छैन। खोलामा भने ठूलै पानी खेर फालिएको छ।
यी चार फरक दृश्य काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का उच्च तहका कर्मचारीको मिलेमतोमा सुख्यायाममा उपभोक्तालार्इ पानी नपठाएर लोडसेडिङ गरिरहेका उदाहरण हुन्।
सुख्यायामसँगै केयुकेएलको उच्च तहका कर्मचारले खानेपानी ट्यांकर व्यकवसायीको मिलेमतोमा उपभोक्तालार्इ कम खानेपानी वितरण गर्छन्। सरकारी स्वामित्वको केयुकेएलले कम पानी दिनेवित्तिकै उपभोक्ताको निजी व्यवसायीबाट पानी किन्न बाध्य हुन्छन्।
विगतमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले इन्भर्टर व्यवसायीको मिलेमतोमा लोडसेडिङ गरेको जस्तै अनियमितता केयुकेएलका उच्चतहका कर्मचारीले गरिरहेका छन्। त्यही कारण ट्यांकरमार्फत खानेपानी बेच्ने व्यवसाय वर्षेनी बढ्दो छ।
नेपाल खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघमा मात्रै ७०० खानेपानी ट्यांकर आवद्ध छन्। यो बाहेक संघमा आवद्ध नभर्इ चल्ने ट्यांकर व्यवसायीको संख्या पनि सयको हाराहारीमा छ। विगतमा लोडसेडिङको तालिका बढ्दा इन्भर्टर व्यवसायी थपिएजस्तै ट्यांकर व्यवसायी बढ्ने क्रम रोकिएको छैन। सुख्खायाममा निजी व्यवसायीको दैनिक अढार्इ करोड रुपैयाँसम्मको खानेपानीको कारोबार हुन्छ। यही कारोबारका कारण सुख्खायाममा केयुकेएलले पानी आपूर्ति घटाउने र निजी ट्यांकरको खानेपानी बिक्रीको ग्राफ उकालो लाग्छ।
राजधानीबासी खानेपानीमा काकाकुल भए पनि केयुकेएलको उच्च तहले यति लापरवाही गरेको छ कि सुन्दरीजलमा बिग्रिएको प्रेसर मिटर पाँच वर्षसम्म बनाइएको छैन। यही प्रेसर मिटरबाट राजधानीमा कति खानेपानी गइरहेको छ भन्ने पत्ता लाग्छ।अहिले काठमाडौंमा दैनिक कति लिटर पानी गईरहेको होला? प्रश्नको जवाफमा सुन्दरीजलका एक कर्मचारीले भने- ‘म यहाँ आएको ५ वर्ष भयो। म आउनुभन्दा पहिलेदेखि नै यो प्रेसर मिटर बिग्रिएको थियो। आउँछन् फोटो खिचेर जान्छन्। अहिलेसम्म बनेको छैन। त्यसैले दैनिक कति लिटर पानी गयो भनेर म कसरी भन्न सक्छु र?’
खानेपानीको व्यवस्थापन गर्न अक्षम बनेपनि केयुकेएलका उच्च अधिकारी भने स्रोतमै पानी घटेकोले उपभोक्तालार्इ कम दिइएको दावी गर्छन्। 'असारदेखि माघसम्म बग्ने पानीको स्रोत धेरै हुन्छ। मोटर चलाएर पानी तानीरहनु पर्दैन। फागुनदेखि मोटर धेरै चल्छन्, गर्मी बढ्दै गर्दा पानीको स्रोत घट्दै जान्छ, केयुकेएलका कार्यकारी निर्देशक डा. महेश प्रसाद भट्टराईको दाबी छ -सतहको पानी धेरै तान्नुपर्ने हुन्छ, १५/२० घण्टा मोटर चलाउउँदा बिग्रिन्छन् र बनाउन दुई/चार दिनदेखि हप्ता दिनसम्म पनि लाग्छ। त्यो बेला पानी आपूर्ति गर्न सकिँदैन।'
सुन्दरीजलका दुर्इ ट्यांकीमध्ये एउटा स्थानीस्तरमा खानेपानी बाँडिन्छ भने अर्कोबाट उपत्यकातर्फ पानी पठाइन्छ। स्थानीयलाई पठाउने ट्यांकीमा पानी आइरहेको थियो। तर, काठमाडौंको विशेष क्षेत्रमा जाने पानी भने खोलामा बगेर खेर गइरहेको थियो।