PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कांग्रेसका मधेश केन्द्रित नेताको सुझाव : तेस्रो चरणमा चुनाव



रमेश वाग्ले

कांग्रेसका मधेश केन्द्रित नेताको सुझाव : तेस्रो चरणमा चुनाव

काठमाडौं : नेपाली कांग्रेसका दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्ले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर द्वन्द्व व्यवस्थापन हुने अवस्थामा तेस्रो चरणको निर्वाचनका लागि पनि तयार हुन सुझाव दिएका छन्।

हिजोदेखि सानेपामा भएको दुई नम्बर प्रदेशका सभापतिसहित त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठकमा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अवस्था ठीक नभएको भन्दै यही अवस्थामा निर्वाचन गराउँदा परिस्थिति सहज नहुनेतर्फ ध्यानाकर्षण गराएका हुन्।

'निर्वाचन जुनसुकै अवस्थामा पनि हुनुपर्छ तर राजनीतिक शक्तिलाई स्पेस नदिँदा भोलि त्यसले अर्को दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएका छौं,' जनकपुरबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमकिशोर प्रसाद साहले भने, 'हामीले चुनाव हुँदै गर्दा 'खुन खरावा' नहोस् भनेर प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराएका हौं।' 

साहले राष्ट्रिय जनता पार्टी स्थानीय तहमा पनि चुनावमा भाग लिने पक्षमै रहेको भन्दै खाली उसलाई राजनीतिक आधारमा भाग लिने वातावरण नबन्दा समस्या भएको बताए।

बाराबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद राम अयोध्याप्रसाद यादवले अहिले दुई नम्बर प्रदेशमा मनोनयन दर्ता नै गर्नका लागि समेत शान्तिपूर्ण अवस्था नरहेको भन्दै त्यो व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।

'हामीले आफ्नो गाउँ नगरमा गएर हाम्रा उम्मेदवारले शान्तिपूर्ण रुपमा उम्मदवारी दर्ता गर्ने अवस्था नभएको शान्ति सुरक्षाको अवस्थाबारे प्रधानन्त्रीलाई जानकारी गराएका छौं,' यादवले भने, 'राजपालाई चुनावमा ल्याउन सके शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुने कुरा हामीले ध्यानाकर्षण गराएका छौं।' 

उनले राजपाले आन्दोलन घोषणा नगर्दासम्म शान्त भएको मधेश आन्दोलनसँगै अशान्त बनेको भन्दै शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गर्न उनीहरुलाई ल्याउनु नै सबैभन्दा उत्तम विकल्प हुने बताए।

'यो चुनाव खाली स्थानीय तहमा एउटा प्रतिनिधि खडा गर्ने मात्र नभएर, संविधानको कार्यान्वयनको पहिलो खुड्किलो पनि हो,' यादवले भने, 'त्यसका लागि संविधान नै मान्दिन भन्ने शक्तिलाई विश्वासमा लिएर चुनावमा जानु सबैभन्दा महत्वपूर्ण हुन्छ।' 

उनले राजपाले चुनावमा भाग लिनासाथ संविधान कार्यान्वयका सबै वाधा सकिने भन्दै त्यसका बाँकी रहेका प्राविधिक पक्ष जुसुकै बेलामा समाधान गर्दा पनि फरक नपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell