PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नेपथ्यभित्रको दृश्य : राजपाभित्रको रडाको, उग्र महतो शान्त महन्थ 



रमेश वाग्ले

नेपथ्यभित्रको दृश्य : राजपाभित्रको रडाको, उग्र महतो शान्त महन्थ 

काठमाडौं : आइतबार चार दिने आमहड्तालसहित कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टीको सोमबार अध्यक्ष मण्डलको बैठक बस्यो। बैठकमा अध्यक्ष मण्डलका नेता महेन्द्र यादव र शरदसिंह भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउनुपर्ने र त्यसका लागि राजनीतिक र प्राविधिक जटिलता हटाउन केही समय सार्न पहल गर्नुपर्ने प्रस्ताव राखे। 

उनीहरुको प्रस्ताव आइसक्दा अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतो भने धमाधम फोन गर्नमै व्यस्त थिए। फोनमा उनले निर्वाचन भाड्नका लागि आन्दोलनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिइरहेका थिए। निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि संचालन गर्न नदिन कडा रुपमा उनले निर्देशन दिइरहे फोनबाटै। 

आन्दोलनलाई कसरी अघि बढाउने, आफूले उठाएका विषयलाई कसरी स्थापित गर्ने जनअधिकार कसरी स्थापित गर्ने भन्ने विषयको छलफलका लागि डाकिएको बैठकमा अध्यक्षता ग्रहण गरिरहेका महन्थ ठाकुर राजेन्द्र महतोको गतिविधिबाट छक्क परिरहेका थिए। 

उनले सोधे, 'किन यस्तो गर्दै हुनुहुन्छ? यो बैठक केका लागि हो?'

महतोले जवाफ दिए, 'यो बैठक आन्दोलनकै निर्णयका लागि हो। अब संसद्बाट सबैले राजीनामा दिनुपर्छ र आन्दोलन एउटा निश्कर्षमा नपुग्दासम्म नरोकिने गरी अघि बढाउनुपर्छ।' 

सँगै रहेका राजकिशोर यादवले महतोको प्रस्तावमा तत्काल सहमति जनाए। र, आन्दोलन बाहेक अर्को विकल्प नरहेको भन्दै संसद्मा बसिरहनुको पनि ‍औचित्य नरहेको जिकिर गरे।

संसद्बाट राजीनामा दिने र निर्वाचन छोड्ने घोषणा गरेपछि महन्थ ठाकुर कड्किए। 

उनले हिन्दी भाषामा भनेका थिए, 'हम लोग गल्ती के उपर गल्ती  करते जा रहे है। भावनात्मक हिसाब से बात करते है। हम क्या-क्या करते है?' (हामी गल्तीमाथि गल्ती गरिरहेका छौं। भावनात्मक कुरा गरिरहेका छौं)

ठाकुरलाई उदृत गर्दै ती नेताले भने, 'हम दोस्तो को भी छोड रहेँ है, रास्ता भी छोड रहे हैँ। देखिए ऐसे नही होगा। नही चलेगा।' (हामी मित्रपनि छोडिरहेका छौं बाटो पनि भूलिरहेका छौं। यस्तो हुनु हुँदैन)

उनले संसद छोड्ने र निर्वाचन छोड्ने विषय प्रजातान्त्रिक शक्तिले भन्न नसक्ने भन्दै त्यस्तो पक्षमा आफू नरहने बताए। 

'मजाक समझते है आप लोग, संसद छोड्ने वाली बात? चुनाव छोड्ने वाली वात?,' ठाकुरले भने, 'कांग्रेस पार्टी छोड्कर हम लोग किसलिए आएँ है? प्रधानमन्त्रीके लिए आए है? अरे जनताको अधिकार दिलानेवाली बात हे, जो अधिकार मिल्ने बाले हे उसको छोडकर आन्दोलनमे जाकर क्या होगा?' 

(संसद छोड्ने, चुनावमा सहभागी नहुने भन्ने विषय ठट्टाका कुरा होइनन्। हामिले कांग्रेस पार्टी किन छाड्यौं, प्रधानमन्त्री बन्न? जनतालाई अधिकार दिन हो, जुन अधिकार मिल्दैछ त्यो छाडेर आन्दोलनमा जाँदा के हुन्छ?)

उनले महतोतर्फ संकेत गर्दै फोन गरेर जनता उचाल्दा नेताको केही नगए पनि जनताको ज्यान जान सक्नेतर्फ सचेत हुन समेत भने। 'आभी भी आप फोन करो। फिर आदमी मरा जायगा। क्या जीन्दगी भर जनता मरते रहेँगे?' (अझै फोन गर्नुस्। फेरि मानिस मर्नेछन्। के जीवनभर जनता मरिरहुन?)

महन्थको भनाईपछि पनि महतोले थामिएनन्। उनले दुई दिनभित्र मिलाइसक्नुस् नत्र आन्दोलनका लागि एक गते काठमाडौंबाट 'रवाना' हुनुपर्छ भन्दै बैठकबाट उठे।

राजपाको आन्दोलन घोषणापछि गम्भीर भएको सरकारले हिजो प्रमुख दलबीच राजपाले चुनावमा भाग लिने सर्तमा उसका राजनीतिक माग सम्बोधन गर्ने समझदारी बनाएर आज प्रमुख दलसहित राजपालाई पनि बैठकमा डाकेको छ। 

तर साँझ हुने बैठक अगावै राजेन्द्र महतो वीरगञ्जतर्फ हानिएका छन्। महन्थलाई संसद् नछोड्ने र चुनावमा जाने वातावरण बनाउन चुनौतीसहित धम्क्याएका राजेन्द्र आज बिहानै विमानबाट बीरगञ्जतिर लागेका हुन्। 

उनीसँगै वैचारिक निकट्ता भएका अध्यक्ष मण्डलका अर्का नेता राजकिशोर यादव पनि अपराह्न जनकपुरतर्फ उडेका छन्।

राजपाको आन्तरिक द्वन्द्व यसरी छताछुल्ल भए पनि अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भने त्यस्तो मतभेद पार्टीभित्र नरहेको दावी गरे।

'निर्णय हुनुअघि पार्टीभित्र मतभेद हुने सामान्य कुरा हो, अहिले आन्दोलनमा जाने र चुनाव असफल बनाउने विषयमा पार्टीभित्र कुनै मतभेद छैन,' यादवले भने, 'जहाँसम्म संसद् छोड्ने कुरा छ त्यो आगामी आन्दोलनले तय गर्ने बाटो हो, अहिले नै के हुन्छ भन्न सकिँदैन।' उनले बैठकमा विभिन्न कोणबाट छलफल भए पनि अहिले त्यस्तो तयारी नरहेको बताए।

त्यसो भए राजेन्द्रसहित राजकिशोरले नै वार्ता छोडेको किन त?

यादवले भने, 'वार्तामा सबैजना बस्नु नै पर्छ भन्ने छैन, यहाँ अरु पनि हुनुहुन्छ, उहाँहरु जानु हुन्छ।' 
को को हुनेछन् त वार्तामा? 

यादवले भने, 'मेरो सबैजनासँग सम्पर्क भएको छैन, जो हुनुहुन्छ उहाँ नै बैठकमा सहभागी हुनुहुन्छ।'

राजकिशोर र राजेन्द्र जनकपुर र वीरगञ्जतर्फ लागेका छन् भने अर्का अध्यक्ष मण्डलका नेता अनिलकुमर झा गृह जिल्लाछ रौतहट पुगेका छन्। निर्वाचनको पक्षमा रहेका भए पनि जिल्लाको वातावरण मिलाउन र आन्दोलनलाई हिंसात्मक हुन नदिन रौतहट पुगेका झा पनि बैठकमा सहभागी हुने छैनन्। 

त्यसैले निर्वाचनको पक्षमा रहेका महन्थ ठाकुर र शरदसिंह भण्डारी बैठकमा सहभागी हुँदैछन् भने सर्लाही गएका महेन्द्र यादव फर्कने तयारीमा छन्। 

२८ गतेको बैठकमा नै आन्दोलन पक्षधर दुई नेताबाट तानिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको राजपा अब एकमुष्ठ रुपमा चुनावमा जान्छ वा फेरि विभाजनको बाटो रोज्छ त्यो भने आगामी दिनले नै देखाउने छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell