PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

दोस्रो चरणको निर्वाचन अघि नै प्रहरीको बढुवा हुने



सविन ढकाल

दोस्रो चरणको निर्वाचन अघि नै प्रहरीको बढुवा हुने

काठमाडौँ : दोस्रो चरणको निर्वाचन अगाडि नै रिक्त पदमा प्रहरीहरुको बढुवा हुने भएको छ। प्रहरी प्रधान कार्यालयले बढुवा समिति बनाएर कुन-कुन पदको बढुवा चुनाव अगाडि गर्ने भन्ने तयारीमा जुटेको छ। 

प्रहरी स्रोतले दिएको जानकारी अनुसारमा केही सातामा नै प्रहरीको बढुवा हुन लागेको हो। केही समयदेखि प्रहरी संगठन भित्रको बढुवा रोकिँदा प्रहरीको वृत्तिविकासमा प्रभाव पारेको छ।

बढुवा रोकिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) चार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १०, प्रहरी उपरीक्षक (एसपी) १२, प्रहरी नायब उपरीक्षक (डीएसपी) ७० र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा २ सय ५० भन्दा बढी पद रिक्त रहेका छन्। 
समयमा नै बढुवा नहुँदा केही प्रहरीले उमेरहदका कारण अनिवार्य अवकाशसमेत भइसकेका छन्। 

गृहमन्त्री भएलगत्तै जनार्दन शर्माले बढुवाको प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि प्रक्रिया शुरु भइसकेको छ। 

नियम अनुसार माथिल्लो तहबाट बढुवा गर्नुपर्ने प्रावधान भए पनि कुन पदमा पहिले बढुवा गर्दा सहज हुन्छ, त्यसको बढुवा गर्ने तयारी भइरहेको प्रहरी उच्च स्रोतले बताएको छ। 

एआइजीमा कति पद रिक्त हुन भन्ने अन्यौल छ। तत्कालीन सरकारले रिक्त सात एआइजी पदमा बढुवा गर्नुपर्नेमा दुई जनाको दरबन्दी थप गरी नौ जनाको बढुवा गरेको थियो। यसविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले थप चार जनाको पनि बढुवा गर्न आदेश दिएपछि १३ जना एआइजी भएका थिए। 

त्यसपछि सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले एआइजीको संख्या तीन जनामात्र हुने निर्णय गरेको थियो। 

मन्त्रिपरिषद्को निर्णय परिवर्तन हुन सक्ने भएकोले एआइजीको संख्या तीन कि सात भन्ने अन्यौल छ। 

यसका कारण पहिले डिआइजी बढुवा हुने देखिन्छ। अहिले बढुवा भएका डिआइजी मध्येबाट नै महानिरीक्षक प्रकाश अर्यालको कार्यकालपछि महानिरीक्षकमा नियुक्ति हुनेछन्। डिआइजी हुने लाइनमा हालका एसएसपीहरु रमेश खरेल, सर्वेन्द्र खनाल लगायत छन्।

प्रहरी नियमावली २०७१ अनुसार कात्तिकसम्म कार्यसम्पादन मूल्यांकन बुझाउने अवधि छ। आर्थिक वर्षको अन्त्यसम्म बढुवा नगरिए प्रकृया लम्बिँदै जाने र झनै झन्झटिलो हुने देखिन्छ।

‘बढुवा प्रक्रिया सिस्टम अनुसार र समयमा नै गर्ने तयारी छ,’ गृहमन्त्री जनार्दन शर्माले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell