काठमाडौंः नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन कुनै हालतमा सार्न नहुने बताएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटीको बैठकले निर्धारित मितिमा निर्वाचन गर्न नसके नेतृत्व गर्नेको नियतमाथिसमेत गम्भीर प्रश्न उठ्ने हुँदा निर्वाचन सार्न नहुने बताएको हो।
बैठकले सबै राजनीतिक दलसँग संवाद गरी तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वबाट विचलित नहुन सरकारलाई आग्रह गरेको छ।
सरकारको नेतृत्व तहबाटै निर्वाचनका मितिका बारेमा भ्रमपूर्ण वक्तव्य सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चतता सिर्जना गर्ने र राजनीतिक अस्थिरतालाई बढावा दिने सार्वजनिक अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तोकिएको मितिमा प्रदेश नं १, २, ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दै बैठकले स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिल्कुल अलग विषय भएको विज्ञप्तिमा उल्लेख छ।
एमालेले व्यवस्थापिका–संसद्मा प्रस्तावित संविधान संशोधनप्रति पार्टीको गम्भीर असहमति रहेको र उक्त प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष मागसमेत गरेको छ।
बैठकले राष्ट्रिय जनता पार्टी (राजपा)ले केही समयदेखि उठाउँदै आएका केही मागप्रति पार्टी सकारात्मक रहेको जनाउँदै एमालेले विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचारको व्यवस्था गर्नेलगायतका मागलाई सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
मुलुकमा दण्डहीनताको स्थिति आउन नदिन र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति नदिन ध्यानाकर्षण गराउँदै एमालेले आवश्यक छानबिन गरी निर्दोष व्यक्तिमाथि लगाइएका मुद्दा फिर्ता गरी निर्वाचनको वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। रासस