
काठमाडौं : भक्तपुर जिल्ला खेलकूद विकास समिति र विद्या विकास सेकेण्डरी बोर्डिङ स्कूल भक्तपुरले संयुक्त तेक्वान्दो आइटिएफ नेपालका खेलाडीद्वय(बाबुछोरा)लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरेको छ। बस्नेत बाबुछोरालाई ओलम्पियन जीतबहादुर केसीले सम्मान पत्र प्रदान गरे।
बस्नेतले जुलाई २०१६ मा बेलायतको ब्राइटन शहरमा सम्पन्न भएको १८औं एडल्ट, सिनियर तथा १३औ जुनियर आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसीपमा सिनियर व्यक्तिगत स्पाइरिङतर्फ ६४ केजी तौल समूहमा कास्य पदक जितेका थिए। बस्नेतले क्वाटरफाइनलमा आयरल्याण्डका खेलाडीलाई पराजित गरेका थिए भने सेमिफाइनलमा पोल्याण्डका खेलाडिसँग पराजित भएका थिए।
बस्नेत तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ्री समेत हुन्।
यस्तै बस्नेत तेक्वाण्डो आइटिएफमा नेपालको लागि पहिलो अन्तराष्ट्रिय पदक भित्र्याउने खेलाडी पनि हुन्। उनले सन् २००४ मा सम्पन्न भएको मलेशिया ओपन आटिएफ च्याम्पियनसिपमा कास्य जितेका थिए।
त्यसैगरी सस्मन बस्नेतले बेलायतमै सोही प्रतियोगिताको १४-१५ वर्ष उमेर समूहको कलर बेल्ट ६४ केजी तौल समूहमा रजत पदक जितेका थिए।
सस्मन बस्नेत फाइनलमा वेल्सका खेलाडीसँग पराजित भएका थिए। उक्त प्रतियोगितामा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
त्यसैगरी तेक्वाण्डो आइटिएफ नेपालले प्रशिक्षक गयाजी खड्का र खेल फोटोपत्रकार रजेन्द्र केसीलाई पनि सम्मान गरेको छ। विगत १० वर्षदेखि निरन्तर सक्रिय रही विभिन्न विद्यालय तथा क्लबहरुमा प्रशिक्षण दिई योगदान पुर्याए बापत प्रशिक्षक खड्कालाई सम्मान गरिएको हो।