PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

राजपाले भन्यो : चुनावमा जाने वातावरण बनोस्, भोलि १० बजे फेरि शीर्ष नेताको बैठक



रमेश वाग्ले

राजपाले भन्यो : चुनावमा जाने वातावरण बनोस्, भोलि १० बजे फेरि शीर्ष नेताको बैठक

काठमाडौं : राष्ट्रिय जनता पार्टीका नेता शरदसिंह भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विषयमा भोलिसम्म निचोड निस्कने विश्वास व्यक्त गरेका छन्। सरकारसँग गहन छलफल जारी रहेको बताउँदै उनले आजको बैठकमा सरकारसँग विनम्रतापूर्वक निर्वाचनमा जाने वातावरण बनाउनका लागि माग गरेको बताए।

छलफलपछि पत्रकारसँग कुरा गर्दै भण्डारीले भने, 'गम्भीर रुपमा बैठक जारी छ। हामीले सरकारलाई विनम्रतापूर्वक सबै दललाई निर्वाचनमा जाने वातावरण बनाइदिनुस् भनेका छौं। अहिलेसम्म त्यो वातावारण बनेको छैन। वातावरण नबनाइ जवर्जस्ती चुनावमा जाने काम भयो भने ठूलो दुर्भाग्य हुन्छ भनेका छौं।'

बैठक भोलि बिहान १० बजे बस्नेगरी टुंगिएको छ। 'भोलि पनि टुंगोमा पुगिएन भने दुर्भाग्यपूर्ण हुन्छ,' भण्डारीले भने।

यसअघि नेकपा एमालेका नेता सुवास नेम्बाङले निर्वाचनपछि संविधान संशोधन गर्ने विषय बैठकमा राखेको जानकारी गराएका थिए। 

'निर्वाचन मिति सबै पक्षको सहमतिमा तोकिएको हो,' छलबाट बाहिरिँदै गर्दा नेकपा एमालेका नेता सुवास नेम्बाङले भने, 'मितिमा तलमाथि नगरौं। बाँकी जेजे गर्न सकिन्छ गरौं।'

उनले स्थानीय तह संख्या थप्ने विषयमा सर्वोच्चले रोकेको उल्लेख गरे। सरकारले गरेको भ्याकेट निवेदन सर्वोच्च अदालतबाट दरपिठ भइसक्यो भन्दै त्यसलाई अगाडि बढाउन नमिल्ने बैठकमा बताएको जानकारी दिए।

'ती बाहेकका विषयमा निर्वाचनका लागि केही गर्न पर्छ भने गरौं भन्ने हाम्रो कुरा रह्यो,' नेम्बाङले भने।

यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री तथा राजपाका नेताहरु छलफलमा नै रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell