
काठमाडौंः नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ।
जिल्लास्तरमा विवाद बनेका तहमा पार्टीका आधिकारिक उम्मेदवारको टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही दिनदेखि निरन्तर पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको थियो ।
बैठकले बढी चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।
त्यस्तै, बैठकले दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा भूपबहादुर डाँगी र उपप्रमुखमा सुष्मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देवीका नेपाली रेग्मीलाई आधिकारिक उम्मेदवार बनाएको छ।
बैठकले मोरङ र दाङका अन्य नगरपालिका र गाउँपालिकाको पनि उम्मेदवारको टुङ्गो लगाएको छ । प्रदेश नं २ का उम्मेदवारको भने बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने बताइएको छ।
अन्य प्रदेशका स्थानीय तहमा कांग्रेसले यसअघि नै पार्टीका आधिकारिक उम्मेदवारको टुङ्गो लगाइसकेको छ। रासस