काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउने अन्तिम गृहकार्यमा रहेका प्रमुख दलहरु आज पनि छलफल जुट्दैछन्। राजपालाई चुनावमा सहभागी गराउने विषयमा छलफलका लागि प्रमुख दलका शीर्ष नेताको बैठक बिहान १० बजे बस्दैछ।
प्रमुख दलको बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दैछन्। प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग परामर्श गरेपछि प्रमुख दलका शीर्ष नेताको बैठक बस्नेछ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन मनोनयनको एक दिनअघि सम्म पनि राजपा चुनावमा सहभागी हुने वा नहुने निश्चित छैन। राजपाले संविधान संशोधनलाई बटमलाइन बनाएको छ। प्रमुख दलहरुले भने चुनावपछि मात्र संशोधन प्रक्रिया अघि बढाउन सकिने बताउँदै आएका छन्।
राजपाले प्रदेश २ र ५ को निर्वाचनको मिति हेरफेर गर्नुपर्ने समेत माग गर्दै आएको छ। तर, प्रमुख दलहरु मिति सार्न सहमत छैनन्। स्थानीय तहको संख्या थपको मागलाई समेत तत्काल अघि बढाउन नसकिने प्रमुख दलहरुको धारणा छ। राजपाले स्थानीय तहको संख्या थप हुनुपर्ने माग गर्दै आएको छ।