
काठमाडौँ: राष्ट्रिय जनता पार्टीको मागअनुसार दुई नम्बर प्रदेशको चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोग पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन स्थगित गर्न सकिने वा नसकिनेबारे परामर्श गरेका थिए। प्रधानमन्त्रीलाई आयोग प्रमुख आयुक्त अयोधीप्रसाद यादवले चुनाव सार्न नसकिने जवाफ दिएका थिए।
‘निर्वाचन आयोग निर्वाचनका लागि तयार भएको छ। सुरक्षा संयन्त्र तयार भएर बसेको अवस्था छ’, प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘यस्तो अवस्थामा १४ गतेको निर्वाचन कुनै पनि हालतमा तल–माथि हुन सक्दैन।’
प्रमुख आयुक्त यादवले निर्वाचन मितिमात्र नभएर मनोनयनका लागि तोकिएको दुई गतेको समय पनि हेरफेर नहुने बताए।
प्रधानमन्त्रीले निर्वाचन मिति सार्न प्रस्ताव गर्नुभएको हो? भन्ने प्रश्नमा प्रमुख आयुक्त यादवले भने, ‘एउटा प्रदेशका विषयमा त्यस्तो प्रस्ताव आएको थियो तर त्यो आवश्यक देखिँदैन।’
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टीले राजनीतिक मागको संम्वोधन हुन नसकेको तथा प्राविधिक विषयका लागि समेत समय अभाव भएको भन्दै केही दिन चुनावको मिति सार्नुपर्ने माग गर्दै आएको छ।
सरकारले राजपाकै लागि पार्टी एकीकरणअघिका कुनै पनि चुनाव चिन्ह दिनेगरी ऐन संशोधन गरेको छ। एकीकृत दलको चुनाव चिन्ह लिए पनि निर्वाचित प्रमाणपत्र भने राजपाकै नामबाट पाउने व्यवस्था समेत मिलाइएको छ।