PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

च्याम्पियन्स ट्रफी : आयोजक इंगल्याण्डलाई हराउँदै पाकिस्तान पहिलो पटक फाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी : आयोजक इंगल्याण्डलाई हराउँदै पाकिस्तान पहिलो पटक फाइनलमा

पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक इंगल्याण्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले आठौं संस्करणको फाइनलमा स्थान बनाएको हो।

पाकिस्तान यसअघि सन् २०००, २००४ र २००९ गरी तीन पटक सेमिफाइनलबाटै बाहिरिएको थियो।

पाकिस्तानले अब उपाधिका लागि भारत र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

इंगल्याण्डले दिएको २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा गरेको हो।

कार्डिफमा टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली इंगल्याण्ड एक बल बाँकी छदै २ सय ११ रनमा अलआउट भयो।

यसअघि समूह चरणमा उत्कृष्ट ब्याटिङ गरेको इंगल्याण्डका कुनै पनि खेलाडीले पाकिस्तान विरुद्ध अर्धशतक बनाउन सकेनन्। पाकिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि इंगलिस इनिङ्स कम स्कोरमा रोकिएको हो।

इंगल्याण्डका लागि जोए रुटले सर्वाधिक ४६ रन बनाए भने ओपनर ज्यासन रोएको स्थानमा पहिलो पटक मोका पाएका जोनी बेएरस्टोले ४३ रन जोडे। यस्तै  बेन स्टोकले ३४ तथा कप्तान इयान मोर्गनले ३३ रन बनाए।

पाकिस्तानका हसन अलीले ३ तथा जुनैद खान र रुमन रइसले २-२ विकेट लिए।

२ सय १२ रनको लक्ष्य पाकिस्तानले ३७.१ ओभरमा पूरा गर्दा दुई खेलाडीले अर्धशकत पूरा गरे। ओपनर अजर अलीले सर्वाधिक ७६ रन बनाए भने अर्का ओपनर फखर जमानले ५७ रन जोडे। अजर र फखरले पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए।

यस्तै बाबर अजाम ३८ तथा मोहम्मद हाफिज ३१ रनमा नटआउट रहे।

१० ओभर बलिङ गर्दा ३५ रन मात्र दिएर ३ विकेट लिएका पाकिस्तानका हसन अली म्यान अफ दी म्यच चुनिए।

दोस्रो सेमिफाइनल अन्तर्गत भारत र बंगलादेशबीचको खेल आज हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell