PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

राजपाले भन्यो : सरकार मागमा सकारात्मक, बन्यो राजनीतिक वातावरण



पहिलोपोस्ट

राजपाले भन्यो : सरकार मागमा सकारात्मक, बन्यो राजनीतिक वातावरण

काठमाडौं : राष्ट्रिय जनता पार्टीले मधेशी जनताको माग सम्बोधनका लागि सरकार सकारात्मक भएको बताएको छ। सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको बैठकपछि राजपाले सरकार सकारात्मक भएको भन्दै आफ्ना मागमा लचकता अपनाउने बताएको हो। 

'सरकारले हाम्रो माग पूरा गर्न सकारात्मक प्रयास गरेको छ, हामी सरकारको औपचारिक निर्णयको प्रतीक्षामा छौं,' राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले भने, 'सरकारले हामीलाई आजै औपचारिक प्रस्ताव दिन्छौं भनेको छ।'
 
नेता भण्डारीले आफूहरुले दुईवटा प्रदेशको निर्वाचन केही समय सार्न प्रस्ताव गरेको भन्दै सरकारले त्यसबारेमा निर्णय गर्ने बताए। 
'दुई र पाँच नम्बर प्रदेशको निर्वाचन सार्नुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,' भण्डारीले भने, 'हाम्रो राजनीतिक माग पूरा गर्न समय पुग्दैन भने उपयुक्त निर्णयका लागि औपचारिक प्रस्ताव ल्याउनुस् र आवश्यक समय लिनुस् भनेर हामीले सरकारलाई भनेका छौं।' उनले सरकारले प्रस्ताव ल्याएपछि अहिले बिग्रिएको राजनीतिक वातावरण सङ्लिने बताए। 

गत जेठ २८ मा सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउनकै लागि राजनीतिक दल सम्बन्धि कानुनको संशोधन गर्दै पार्टी एकीकरणपछि पनि पुरानो निर्वाचन चिन्ह खारेज हुने व्यवस्था हटाएको थियो। 

कानुन मात्र संशोधन गरेर निर्वाचनका लागि वातावरण नबन्ने र तोकिएको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन प्राविधिक कठिनाइ समेत रहेको भन्दै राजपाले भने त्यही दिन आन्दोलन घोषणा गरेको थियो। 

राजपाभित्रै आन्दोलनमा जाँदा संदद छोड्ने र निर्वाचन बहिस्कार गर्ने तथा संसद्मै बस्ने र निर्वाचनको वातावरण बनाएर भाग लिने विषयमा चर्को विवाद देखिएको थियो। 

त्यही विवादका कारण आन्दोलनको पक्षमा रहेका अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो र राजकिशोर यादव आन्दोलनका लागि मधेश गएका छन् भने निर्वाचनको पक्षमा रहेका अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, महेन्द्र यादव र शरदसिंह भण्डारीको प्रयासबाट सरकार तेस्रो चरणमा निर्वाचन गराउन सहमत भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell