PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

झापामा उम्मेदवारः कांग्रेसमा नयाँ अनुहार, एमालेमा पुरानै



रासस

झापामा उम्मेदवारः कांग्रेसमा नयाँ अनुहार, एमालेमा पुरानै

झापाः असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा नेपाली कांग्रेसले सबैभन्दा धेरै नयाँ र समावेशी अनुहारलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ।

नयाँ अनुहार चुनावी मैदानमा उत्रिएसँगै उनीहरुले अहिले विजय उत्सवको शैलीमा मतदातासँग मत मागिरहेका छन्। 

झापाका १५ स्थानीय तहमध्ये नेपाली कांग्रेसले नौ प्रमुख पदमा समावेशी उम्मेदवार तयार पारेको छ जसमध्ये सात गाउँपालिका रहेको झापामा सातैजना समावेशी उम्मेदवार छन्।

आठ नगरपालिकामध्ये दुई स्थानमा समावेशी उम्मेदवार तयार पारेको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए । 

यता, नेकपा एमालेले छ, नेकपा माओवादी केन्द्रले चार र राप्रपाले चार स्थानमा प्रमुख पदमा समावेशी उम्मेदवार उठाएका छन्।

एमालेले तीन नगरपालिका र तीन गाउँपालिकामा समावेशी उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रले दुई नगरपालिका र दुई गाउँपालिकामा समावेशी उम्मेदवार उठाएको छ । राप्रपाले एक नगरपालिका र तीन गाउँपालिकामा समावेशी उम्मेदवार चयन गरेको छ । 

कांग्रेसमा सबै नयाँ अनुहार 

कांग्रेसले झापाका १५ स्थानीय तहमध्ये आदिवासी जनजाति, मधेसी र महिलालाई समेटेर उम्मेदवारी दिएको छ भने कोच राजवंशीको आदिमकालदेखि बसोबास रहेको यस जिल्लाका तीन स्थानका गाउँपालिका प्रमुखमा राजवंशी समुदायबाट उम्मेदवार बनाएको छ । 

आदिवासी समुदायबाट कचनकवल गाउँपालिकामा कालेन्द्र राजवंशी, बाह्रदशीमा खड्गप्रसाद राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलवती राजवंशी (महिला)लाई अध्यक्षको उम्मेदवार बनाएको छ।

जनजाति समुदायबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, कमल गाउँपालिकामा हुकुमसिंह राई, हल्दिबारी गाउँपालिकामा दिलीप माबो लिम्बू र बुद्धशान्ति गाउँपालिकामा रमेश भुजेललाई अध्यक्षको उम्मेदवार बनाइएको छ। 

मधेसी रैथाने बासिन्दाको समुदायबाट गौरादह नगरपालिकाको प्रमुखमा रोहित साह र झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण साहलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ । 

एमालेमा पुरानै अनुहार 

एमालेले तीन नगरपालिका र तीन गाउँपालिकामा जनजाति र महिलालाई उम्मेदवार बनाएको छ । आदिवासी कोचको राजधानी मानिएको झापामा एमालेले आदिवासी समुदायबाट एकजना पनि उम्मेदवार बनाएको छैन भने मधेसी पनि उम्मेदवार छैनन् । 

एमालेले झापामा समावेशी उम्मेदवार बनाएकामा अर्जुनधारा नगरपालिकामा हरि रानामगर, भद्रपुरमा जीवन श्रेष्ठ र शिवसताक्षी नगरपालिकामा चन्द्र शेर्मा छन्।

गाउँपालिकातर्फ एमालेले झापा गाउँपालिकामा गजेन्द्र ताम्लीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने दुईवटा गाउँपालिकामा गैरआदिवासी जनजाति समुदायका महिलालाई अध्यक्षमा उम्मेदवार बनाएको छ ।

हल्दिबारीमा मञ्जु सिटौला र कमल गाउँपालिकामा मेनुका काफ्लेलाई अध्यक्ष पदमा टिकट दिइएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए। 


एमालेले झापामा पुरानै अनुहारलाई पुनः उम्मेदवार बनाएको छ । बीस वर्ष पहिले जनप्रतिनिधि भएका पुरानै अनुहारलाई प्राथमिकता दिएर एमालेले उम्मेदवार तय गरेको हो ।

मेचीनगर नगरपालिकामा प्रमुखको उम्मेदवार विष्णु प्रसाईं पूर्व जिविस उपसभापति हुन् । उनी पञ्चायतकालमा धाइजन गाउँ पञ्चायतको प्रधानपञ्चसमेत थिए । 

त्यसैगरी, बिर्तामोडका प्रमुखका उम्मेदवार ध्रुव शिवाकोटी अनारमनी गाविसका पूर्वअध्यक्ष हुन्। अर्जुनधाराका प्रमुखका प्रत्यासी हरि रानामगर शनिश्चरे गाविसका पूर्वअध्यक्ष हुन् ।

त्यस्तै, भद्रपुरका प्रमुखका उम्मेदवार जीवन श्रेष्ठ सोही नगरपालिकाका पूर्वउपप्रमुख हुन्। कनकाई नगरपालिकाका प्रमुखका प्रत्यासी राजेन्द्र पोखरेल सुरुङ्गा गाविसका पूर्वउपाध्यक्ष हुन्। 

त्यसैगरी, दमक नगरपालिकाका प्रमुखका उम्मेदवार एमाले अध्यक्ष केपी ओलीका भतिजा मात्र होइनन्, उनी २० वर्ष अघि पनि दमक नगरपालिकाका प्रमुख थिए।

बाह्रदशी गाउँपालिकामा एमालेले अध्यक्षको उम्मेदवार बनाएका लक्ष्मण पाठक डाँगीबारी गाविसका पूर्वअध्यक्ष हुन् र गौरीगञ्ज गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्याम ढकाल कोरोबारी गाविसका पूर्वअध्यक्ष हुन्। एमालेले पुराना र अनुभवी नेतालाई उम्मेदवार बनाएको दाबी गर्दै आएको छ। 

माओवादी केन्द्र 


सबैभन्दा धेरै समावेशीताको नारा लगाउने नेकपा माओवादी केन्द्रले झापाका दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानमा मात्र समावेशी उम्मेदवार बनाएको छ । 

भद्रपुर नगरपालिकामा शिवकुमार राजभण्डारी र मेचीनगर नगरपालिकामा हंशलाल राजवंशीलाई प्रमुखको उम्मेदवार बनाएको छ।

कचनकवल गाउँपालिका अध्यक्षमा हंशराज राजवंशी र गौरीगञ्ज गाउँपालिकामा विद्यानन्द राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएको छ। 

कोच राजवंशीको कोचिला राज्यको वकालत गर्ने माओवादी केन्द्रले झापामा कांग्रेसले जति नै तीन स्थानमा आदिवासी राजवंशी समुदायबाट प्रमुख पदमा उम्मेदवार बनाएको छ । महिला र मधेसीलाई प्रमुख पदको उम्मेदवारमा उसले समेट्न सकेको छैन। 

राप्रपाले आदिवासीलाई उठाएन 

राप्रपाले झापामा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानमा समावेशी उम्मेदवार छनोट गरेको छ। जसअनुसार मेचीनगर नगरपालिकामा अशोक सुब्बा लिम्बूलाई प्रमुखको उम्मेदवार बनाइएको छ। 

त्यसैगरी राप्रपाले कचनकवल गाउँपालिकाको अध्यक्षमा अल्पसङ्ख्यक मुस्लिम समुदायका अन्जर आलमलाई अध्यक्षको उम्मेदवार बनाएको छ।

हल्दिबारीमा रवीन्द्र लिङ्देन र गौरीगञ्ज गाउँपालिकामा बाबुराजा श्रेष्ठलाई अध्यक्षमा टिकट दिइएको राप्रपा झापाका सचिव केशव ओझाले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell