
भक्तपुरः नेकपा एमालेले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ।
भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको स्थायी समिति बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको हो।
एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनको विषय निर्वाचनसँग सम्बन्धित विषय नभइ अलग विषय भएकाले संविधान संशोधनलाई अगाडि सारेर निर्वाचन बिथोल्ने काम नगर्न आग्रह गरे।
संवैधानिक आयोगको सिफारिसमा बनेको स्थानीय तहको सङ्ख्या र सीमाङ्कनको आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको सम्मुखमा आएर फेरि सङ्ख्या र सीमाङ्कन हेरफेर गर्ने कुरामा एमाले कुनै हालतमा सहमति हुन नसक्ने उनले बताए।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाबाट निर्वाचन सार्ने र निर्वाचनलाई अन्योलतातर्फ धकेल्ने गरी आएको अभिव्यक्तिप्रति एमालेले चिन्ता व्यक्त गरेको छ र यस्ता भ्रमपूर्ण अभिव्यक्ति नदिन सरकारलाई आग्रहसमेत गरेको छ।
राजपाले उठाएका केही माग अहिले पूरा हुने र सबै माग तत्काल पूरा हुन नसक्ने भन्दै एमालेले १४ गतेको निर्वाचनमा भाग लिन राजपालाई अपिल गरेको छ।रासस