PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

पत्रकार पदम ठकुराठी गोली काण्डमा ८ वर्ष जेल परेका थापा फेरि फन्दामा



सविन ढकाल

पत्रकार पदम ठकुराठी गोली काण्डमा ८ वर्ष जेल परेका थापा फेरि फन्दामा

काठमाडौं : २०४३ भदै २० गते राजधानीमा एउटा घटनाले सबैको आङ नै जिरङ्ग बनायो। घटना थियो पत्रकार पदम ठकुराठीको टाउकैमा हानिएको गोली। टाउकोमा गोली लागे पनि उपचारपछि पुर्नजन्म पाए उनले।

सोही घटनामा प्रहरीले काठमाडौं स्थायी घर भएका गौतम थापाविरुद्ध अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गरायो। अदालतले पनि दोषी ठहराएपछि थापा आफै अदालत पुगे। सरेन्डर गरे, जेल परे। 

८ वर्षको कारागार पूरा गरेर निस्किएका थापा बुधवार फेरि प्रहरीको हिरसातमा पुगे। करिब २ दशकपछि लागू औषध कारोबारको अभियोगमा गौतम समातिएका हुन्।

लागू औषध नियन्त्रण व्युरोले थापालाई बुधवार मैतिदेवीबाट बुप्रेनोर्फिन एम्पुल २६० पिस, डाइजेपाम एम्पुल २६०, फेनारगन एम्पुल २६० र नाइट्राजेपाम नाइट्राभेट ४६८० ट्याब्लेटसहित पक्रेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार थापा कैद भुक्तानपछि लागू औषध कारोबारीमा लागेको खुलेको छ। ब्युरोका एसएपी धिरु बस्नेत भन्छन्, 'भारतीय गिरोहसित मिलेर नेपालमा बसी कारोबार गरेको देखियो।'

थापाले भारतका सिलुम खालुम भन्ने व्यक्तिसँग मिलेर वीरगञ्ज हुँदै लागू ‍औषध भित्राउने र नेपालमा रहेका नेटवर्क मार्फत् वितरण गर्ने गरेको खुलेको छ। थापाले भित्रिएको लागू औषधको रकम भने विभिन्न मनी ट्रान्सफर मार्फत् भुक्तानी गर्थे।

लागू ‌औषधको प्रयोगकर्ता कलेजका विद्यार्थी र होस्टेल बस्ने भएको एसएसपी बस्नेतले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell