
दक्षिण कोरियाः चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो बार्षिक बैठक दक्षिण कोरियामा यसै हप्ता हुने भएको छ।
बैंकको बोर्ड अफ गभर्नस्को दोस्रो बैठक शुक्रबार र शनिबार दक्षिण कोरियाको दक्षिणी भूभागमा रहेको जेजु रिसोर्टमा हुने भएको हो।
बैंकको पहिलो बार्षिक बैठक चीनको राजधानी बेइजिङ्मा गतबर्ष भएको थियो। यो बैंकको औपचारिक स्थापना सन् २०१६ मा मात्र भएको हो।
बैंकलाई बहुराष्ट्रिय विकास बैंककारुपमा विकास गर्ने योजना बनाइएको छ । बैंकले एसियाली राष्ट्रहरुमा पूर्वाधारको विकासका लागि आर्थिक सहायता र ऋण दिनेछ।
बैठकमा बैंकका सदस्य राष्ट्रहरुका करिब २ हजार सरकारी अधिकारी, बैंकका प्रतिनिधि र अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिइएको छ।
बैठक बिशेषगरी बैंकहरुको व्यवस्थापनका साथै एसियाली क्षेत्रमा पूर्वाधारको निर्माणजस्ता विषयमा केन्द्रित हुने भएको छ।
दक्षिण कोरियाली सरकारले दिएको जानकारी अनुसार बैठकको मुख्य विषयबस्तु दिगो पूर्वाधार निर्माणजस्ता विषयमा केन्द्रीत हुने पनि जनाइएको छ। रासस/सिन्ह्वा