PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

यसरी सम्झिइयो जयतु संस्कृतम् आन्दोलनलाई 



रासस

काठमाडौंः विसं २००४ असार १ गते नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको सम्झनामा बिहीबार जयतु संस्कृतम् दिवस मनाइएको छ। 

तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले संस्कृत शास्त्रीय विषयका साथै आधुनिक विषय अङ्ग्रेजी, विज्ञान, गणित, भूगोललगायत पनि पढ्न पाउनुपर्छ भनी राणा शासकसँग माग राखेर आन्दोलन सुरु गरेका थिए।

आन्दोलनमा उत्रेका छात्रावासका विद्यार्थीलाई तत्कालीन राणा सरकारले चारपाटा मुडी चार भञ्ज्याङ कटाएको थियो। 

चार भञ्ज्याङ कटाइएका विद्यार्थी देशका विभिन्न भागमा भिक्षा माग्दै राणा शासनविरुद्ध प्रजातन्त्रका पक्षमा जागरण फैल्याउँदै बनारस पुगे।

बनारसमा नेपाली राष्ट्रिय कांग्रेसका नेता बिपी कोइरालासँग भेट गरी श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, पद्मशङ्कर अधिकारीलगायत स्वदेश फर्किएर विभिन्न स्थानका आन्दोलनमा सहभागी भएका थिए। 

आन्दोलनको स्वर्ण महोत्सवका अवसरमा विसं २०५४ मा विविध कार्यक्रम गरी वर्षभर मनाइएको थियो। विसं २०५५ पछि जयतु संस्कृतम् संस्थाकै रुपमा दर्ता गरी विविध कार्यक्रम गरिँदै आएको छ। 

सो अवसरमा आज बिहान वाल्मीकि विद्यापीठबाट सुरु भएको प्रभातफेरी सहरका विभिन्न भाग परिक्रमा गरेर दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासमा पुगी समापन भएको थियो। 

प्रभातफेरीपछि आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले संस्कृत भाषाले विश्वलाई नै योगदान गर्नसक्ने भएकाले यसको विश्वव्यापी प्रभाव बढ्दै गएको बताए। 

जयतु संस्कृतम् पुरस्कार लाटोसाथीलाई 

प्रत्येक वर्ष संस्कृत भाषामा प्रकाशित पुस्तकमध्येबाट छनोट गरेर दिइने जयतु संस्कृतम् पुरस्कार विसं २०७४ मा ‘हनूमदयन महाकाव्यम्’ का लागि साहित्यकार विष्णुराज आत्रेय ‘लाटोसाथी’ लाई दिइने भएको छ। 

पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ। केही दिनमा सो पुरस्कार वितरण गरिने संस्थाले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell