PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

अर्थ समितिको निर्देशनः कर फछ्र्योट आयोग ऐन तत्काल संशोधन प्रक्रिया अघि बढाउ



रासस

अर्थ समितिको निर्देशनः कर फछ्र्योट आयोग ऐन तत्काल संशोधन प्रक्रिया अघि बढाउ

काठमाडौंः  व्यवस्थापिका–संसद्को अर्थ समितिले कर फछ्र्योट आयोग ऐन, २०३३ लाई समयानुकूल बनाउनका लागि तत्काल संशोधन प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। 

समितिको बिहीबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर छुट र असुलीमा भएको अनियमितता सम्बन्धमा भइरहेको अनुसन्धानबाट देखिएका दोषीलाई कडा कारबाही गर्न र राजस्व छली भएको रकम तत्काल असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको सभापति प्रकाश ज्वालाले जानकारी दिए। 

समितिका सभापति ज्वालाले नेपालको कर क्षमता पत्ता लगाउन, कर प्रणालीमा रहेको कर निर्धारण तथा कर असुली, कर फछ्र्र्योटलाई समयानुकूल सुधार गर्न यथाशीघ्र काम अगाडि बढाउनसमेत निर्देशन दिइएको बताए। 

यस्तै, आन्तरिक राजस्व विभागबाट दिने गरिएको राजस्व मिनाहाको कामलाई स्थगन गरी राजस्व उठाउन बाँकी रहेको रकम तत्काल असुल गर्नसमेत बैठकले निर्देशन दिएको छ। 

राजस्व बक्यौता मिनाहा वा कर फछ्र्र्योटसम्बन्धी स्पष्ट मापदण्ड र निर्देशिका तयार गरी अर्थ समितिमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। 

समितिको बैठकमा सांसदहरुले कमजोर कानुनका कारण राज्यले प्राप्त गर्ने ठूलो धनराशि गुमिरहेको जनाउँदै तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका थिए।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले कर प्रशासनमा भएको सुधारका विषयमा पनि चर्चा गर्नुपर्ने र नकारात्मक विषयलाई मात्रै प्रचार गर्ने प्रणाली अन्त्य हुनुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell