
इंगल्याण्डमा भइरहेको च्याम्पिन्स ट्रफी क्रिकेटको उपाधिका लागि दुई एसियाली राष्ट्र भारत र पाकिस्तान भिड्ने भएका छन्। बिहिबार भएकव दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो।
रोहित शर्माले शतक प्रहार गरेपछि भारतले २ सय ६५ रनको लक्ष्य ४०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो। फाइनलमा पाकिस्तान सामु भारत विरुद्ध उक्त हारको बदला लिने अवसर समेत छ। यस्तै पाकिस्तानले भारतलाई हराए पहिलो पटक च्याम्पियन बन्नेछ भने भारत विजयी भए सर्वाधिक ३ पटक उपाधि जित्नेछ।
एड्ग्वास्टनमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो। बंगलादेशका लागि ओपनर तमिम इकवालले सर्वाधिक ७० रन बनाए भने विकेटकिपर मुसफिकर रहिमले ६१ रन जोडे। यस्तै कप्तान मोसरफ मोर्ताजा ३० रनमा नटआउट रहे।
बलिङमा भारतका लागि भुवनेश्वर कुमार, जसप्रित बुमराह र केदार जादवले २-२ विकेट लिए।
जवाफमा भारतले उत्कृष्ट ब्याटिङ गर्दै ९ विकेटको जित हासिल गर्यो। भारतका लागि रोहितले नटआउट १ सय ३३ रन बनाए। यस्तै कप्तान विराट कोहली ९६ रनमा नटआउट रहे। रोहित र कोहलीले दोस्रो विकेटका लागि नटआउट १ सय ६८ रनको साझेदारी गरे। रोहितले १ सय २९ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे। ७८ बल खेलेको कोहलीले १३ चौका प्रहार गरे।
त्यसअघि ओपनर शिखर धवनले ४६ रन बनाएका थिए। उनलाई बंगलादेशका कप्तान मोर्ताजाले आउट गरेका थिए।
भारत र पाकिस्तानबीचको उपाधि भिडन्त आगामी आइतबार ओभलमा हुनेछ।