काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशित गरेको छ। कार्यालयले शुक्रबार बिहान परीक्षाफल प्रकाशित गरेको हो। यो वर्षदेखि एसएलसीको सट्टा एसइइका रुपमा परीक्षा सञ्चालन भएको थियो।
परीक्षामा चार लाख ६२ हजार १३६ विद्यार्थी सहभागी भएका थिए। जसमा जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २८४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै, ३.२५ देखि ३.६० सम्म ४२ हजार ४२७ विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षाफल अनुसार जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ६४६, जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९५५ विद्यार्थी उत्तीर्ण भएका छन्।
यस्तै जीपीए २.५ देखि २.४० सम्म ९१ हजार ३१४ विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सामेलमध्ये एक लाख आठ हजार ४६४ ले जीपीए १.६५ देखि २.०० सम्मको स्थान हासिल गरेका छन्।
जीपीए १.२५ देखि १.६० सम्म ६४ हजार ५७७ विद्यार्थी उत्तीर्ण भएका छन्। जीपीए १.२० भन्दा कम ल्याउने ११ हजार २८५ छन्। १५ जना विद्यार्थीले जीपीए ०.८० भन्दा कम अंक ल्याएका छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित र एक्जाम्टेडतर्फ गरी तीन जना कम उमेरका विद्यार्थी सामेल भएका छन्। एक हजार ७९१ जनाले सैदान्तिक परीक्षा छाडेका छन्। प्राक्टिकल परीक्षामा सामेल नहुने एक हजार ६४ जना छन्। परीक्षामा सामेलमध्ये २१६ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ।
ग्रेड ‘सी’ र त्योभन्दा कम अंक ल्याउने विद्यार्थीले यही वर्ष सवै विषयको परीक्षा दिन पाउनेछन्। अघिल्लो वर्ष दुई विषयमा ग्रेड डी र ई ल्याउन नसकेका विद्यार्थीले पुनः मौका परीक्षा दिएका थिए। ग्रेड स्तरोन्नतीको परीक्षा आउँदो साउन १९ देखि २६ गतेसम्म हुने कार्यालयले जनाएको छ।
परीक्षाको जानकारी नेपाल टेलिकमको ल्याण्डलाइन फोनबाट १६०० मा डायल गरी जानकारी लिन सकिनेछ। यस्तै, टेलिकम र एनसेलको मोवाइलबाट १६०० मा एसएमएस गरी पनि परीक्षाफल जानकारी लिन सकिनेछ।
यस्तै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा पनि परीक्षाफल हेर्न सकिनेछ।